नेकपाकी केन्द्रीय सदस्य डा. सीता ढुंगाना रास्वपामा प्रवेश धादिङको राजनीतिमा तरंग, राजेन्द्र पाण्डेलाई राजनीतिक धक्का
496 पटक पढिएको
धादिङ । गजुरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य डा. सीता ढुंगाना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि यो समाचार यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ।
नेकपाको केन्द्रीय सदस्यहरूको सूची सार्वजनिक हुँदा डा. ढुंगानाको नाम समावेश गरिएको थियो। तर त्यसको केही दिन नबित्दै उनले रास्वपामा प्रवेश गरेपछि स्थानीयदेखि केन्द्रीय राजनीतिसम्म नयाँ बहस सुरु भएको छ।नेकपाको केन्द्रिय सदस्यको सूचीमा ढा. ढुंगाना संगै उनको श्रीमान नवराज अर्यालको पनि नाम पनि रहेको छ ।
डा. ढुंगाना २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गजुरी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। पछि माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएपछि उनले एमाले त्यागेर सो पार्टी रोजेकी थिइन्। प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव नेपालको नेकपा एकीकृत समाजवादीसहितका दलबीच एकता भएपछि उनी नेकपाको केन्द्रीय सदस्य बनेकी थिइन्।
स्थानीय राजनीतिक वृत्तमा डा. ढुंगानाको रास्वपा प्रवेशलाई परम्परागत वाम राजनीतिप्रतिको निराशा र वैकल्पिक राजनीतिक शक्तितर्फको आकर्षणका रूपमा हेरिएको छ। विशेषगरी गजुरी क्षेत्रको राजनीतिमा उनको सक्रिय भूमिकालाई ध्यानमा राख्दा यो प्रवेशले रास्वपाको संगठन विस्तारमा सहयोग पुग्ने विश्लेषण गरिएको छ।
ढुंगाना रास्वपामा प्रवेश गरेसँगै पूर्वमन्त्री तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपाका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई ठूलो राजनीतिक धक्का लागेको चर्चा पनि चलेको छ। ढुंगाना पाण्डे नजिककी नेतृका रूपमा चिनिँदै आएकी थिइन्।
यद्यपि रास्वपामा औपचारिक रूपमा प्रवेश गरिसके पनि डा. ढुंगानाको सामाजिक सञ्जालमा अझै ‘नेकपाकी केन्द्रीय सदस्य’ भन्ने परिचय उल्लेख रहेको विषयले पनि चर्चा पाएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो घटनाले धादिङ जिल्लामा मात्रै होइन, वाम गठबन्धनको संगठनात्मक अवस्थामाथि समेत प्रश्न उठाएको छ भने रास्वपालाई वैकल्पिक शक्तिका रूपमा अझ बलियो बनाउने संकेत दिएको छ।







