डा. सीता ढुंगानाको स्पष्टोक्ति: ‘म नेकपाको केन्द्रीय सदस्य होइन’

307 पटक पढिएको

२ माघ २०८२, शुक्रबार २१:१७ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको गजुरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष डा. सीता ढुंगानाले आफू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य नरहेको स्पष्ट पारेकी छिन्। शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उनले नेकपाको केन्द्रीय सदस्य पद त्यागिसकेको औपचारिक घोषणा गरेकी हुन्।

ढुंगानाले आफ्नो स्टाटसमा ‘नेकपाको २४९९ केन्द्रीय सदस्यको शपथग्रहण नगरेको र सो भूमिकामा नरहने निर्णय गरिसकेको’ उल्लेख गर्दै यसबारे सम्पूर्ण शुभेच्छुक, जनप्रतिनिधि तथा सरोकारवालालाई जानकारी गराएकी छन्।

उनको उक्त अभिव्यक्तिसँगै पछिल्लो समय सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा उठिरहेका विभिन्न अड्कलबाजीप्रति स्पष्टता आएको छ। यसअघि डिन्यूज नेपालले डा. ढुंगानाले करिब दुई महिना अघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिइसकेको समाचार प्रकाशित गरेको थियो।

तर उक्त समाचारप्रति असहमति जनाउँदै आएका केही पक्षले त्यसलाई ‘अनावश्यक हल्ला’ र ‘तथ्यहीन’ भनेका थिए। डा. ढुंगानाको पछिल्लो फेसबुक स्टाटसपछि भने सो विषय पुनः चर्चामा आएको छ र उनले नेकपाको केन्द्रीय सदस्य नरहेको तथ्य सार्वजनिक रूपमा पुष्टि भएको छ।

डा. ढुंगानाको यो घोषणालाई धादिङको स्थानीय राजनीति र दलगत समीकरणको दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।