निर्वाचन केन्द्रित शक्ति प्रदर्शनमा एमाले आज भृकुटीमण्डपमा

351 पटक पढिएको

४ माघ २०८२, आईतवार ०७:५५ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेकपा एमालेले आज काठमाडौँको भृकुटीमण्डपमा निर्वाचन केन्द्रित जनप्रदर्शन गर्ने भएको छ। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो।

बागमती प्रदेश कमिटीको आयोजनामा अपराह्न १२ बजेदेखि सुरु हुने कार्यक्रम एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न हुने जनाइएको छ। कार्यक्रममा केन्द्रीय नेतृत्व, प्रदेशस्तरीय नेता तथा देशभरबाट कार्यकर्ताको उल्लेख्य सहभागिता रहने एमालेले जनाएको छ।

एमालेले प्रदर्शनमार्फत चुनावी अभियानको औपचारिक सन्देश दिने, पार्टीको संगठनात्मक शक्ति देखाउने र जनमत आफ्नो पक्षमा केन्द्रित गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा शीर्ष नेताहरूले सम्बोधन गर्दै वर्तमान राजनीतिक परिस्थिति, स्थिर सरकारको आवश्यकता तथा एमालेको चुनावी एजेन्डाबारे धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ।

राजधानीमा ठूलो संख्यामा कार्यकर्ता उतार्ने तयारी गरिएकाले ट्राफिक व्यवस्थापन र सुरक्षामा समेत विशेष तयारी गरिएको छ। एमालेले कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित बनाउने दाबी गरेको छ।