निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक

320 पटक पढिएको

११ माघ २०८२, आईतवार ०६:४९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत मनोनयन दर्ता गराएका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ।

निर्वाचन आयोगका अनुसार निर्धारित समयभित्र मनोनयन पत्र दर्ता गरी दर्ता कायम रहेका उम्मेदवारहरूले मनोनयन पत्रसँगै पेश गरेका वैयक्तिक विवरणहरू प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१) बमोजिम अनुसूची–१० अनुसार संकलन गरिएको हो। ती विवरणहरू सोही निर्देशिकाको दफा २२ (३) अनुसार सार्वजनिक गरिएको आयोगले जनाएको छ।

आयोगले निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक गर्नु अपरिहार्य रहेको स्पष्ट पारेको छ। कानुनी व्यवस्थाअनुसार उम्मेदवारहरूले पेश गरेका शैक्षिक योग्यता, सम्पत्ति विवरण, आपराधिक पृष्ठभूमि (यदि भए), पेशा तथा अन्य वैयक्तिक विवरणहरू आयोगको आधिकारिक वेबसाइटमार्फत प्रकाशन गरिएको हो।

यसबाट मतदाता, सरोकारवाला निकाय, सञ्चार माध्यम तथा आम नागरिकलाई उम्मेदवारको पृष्ठभूमि, योग्यता र अवस्था सम्बन्धी जानकारी सहज रूपमा प्राप्त हुने आयोगको विश्वास छ। आयोगका अनुसार यस किसिमको सार्वजनिकरणले मतदातालाई सूचित निर्णय लिन सहयोग पुग्नेछ।

आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको वैयक्तिक विवरण निर्वाचन आयोगको आधिकारिक वेबसाइट
(https://result.election.gov.np) मार्फत अवलोकन गर्न सकिने जनाएको छ।

आयोगले मतदाता तथा सरोकारवालालाई उपलब्ध विवरणहरू अध्ययन गरी निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन समेत आग्रह गरेको छ।