धादिङमा चुनावी गतिविधि, संगठन चलायमानदेखि नयाँ मतदाता खोजीसम्म

381 पटक पढिएको

१२ माघ २०८२, सोमबार १८:५४ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भई उम्मेदवारहरूले चुनाव चिह्न प्राप्त गरेसँगै जिल्लाभर चुनावी गतिविधि तीव्र बन्दै गएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार तथा राजनीतिक दलहरू मतदातामाझ पुग्ने तयारीमा जुटेका छन्।

निर्वाचन आयोगको विवरणअनुसार धादिङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा २३ जना र क्षेत्र नम्बर २ मा २४ जना उम्मेदवारको उम्मेदवारी कायम भएको छ। उम्मेदवारको अन्तिम टुंगो लागेसँगै जिल्लामा चुनावी बहस, संगठन विस्तार र जनसम्पर्क अभियानले गति लिन थालेको छ ।

मुख्य राजनीतिक दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),  लगायतले आ–आफ्ना संगठनलाई थप सक्रिय बनाउँदै चुनावी रणनीति अघि बढाएका छन्। पुराना दलहरू आफ्नो परम्परागत संगठन संरचनालाई चलायमान बनाउने प्रयासमा छन् भने नयाँ दलहरू नयाँ मतदाता र असन्तुष्ट मतदाताको खोजीमा केन्द्रित हुन थालेका छन् ।

नेकपा (एमाले) धादिङ निर्वाचन क्षेत्र नम्बर १ र २ मा चुनावी तयारीलाई तीव्र बनाएको छ। क्षेत्रीय बैठक र विस्तारित बैठकमार्फत निर्वाचन परिचालन मूल समिति तथा प्रचार–प्रसार, युवा परिचालन, आर्थिक व्यवस्थापन, सूचना प्रविधि लगायतका उपसमितिहरू गठन गरिएको छ।

नेकपा (एमाले) धादिङ निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय समन्वय कमिटीले माघ १० गते आइतबार गल्छीमा क्षेत्रीय कमिटीको बैठक सम्पन्न गरेको छ। बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठनलाई थप चलायमान बनाउने उद्देश्यसहित नेकपा (एमाले) धादिङका संस्थापक नेता जगन्नाथ नेपाल संयोजक र रमेश आचार्य उपसंयोजक रहने गरी त्वमा ४०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

बैठकले निर्वाचन अभियानलाई प्रभावकारी बनाउन प्रचार–प्रसार, युवा परिचालन, आर्थिक व्यवस्थापन, स्थानीय मुद्दा संकलनलगायत विभिन्न विषयगत उपसमितिहरू पनि गठन गरेको छ। पार्टीले टोल–टोल र गाउँ–गाउँमा पुगेर कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष संवाद गर्दै चुनावी अभियानलाई तीव्र बनाउने निर्णय गरेको जनाएको छ।

यसै गरी क्षेत्र नम्बर २ मा पार्टीका जिल्ला संयोजक अर्जुन गोर्खालीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको एमाले धादिङले जनाएको छ ।

एमालेले गाउँ–गाउँ, टोल–टोलमा पुगेर कार्यकर्ता भेटघाट, संगठन विस्तार र मतदातासँग प्रत्यक्ष संवाद गर्ने रणनीति लिएको जनाएको छ। पार्टी नेतृत्वले विकास, स्थायित्व र सुशासनका मुद्दालाई जनतामाझ पुर्‍याउँदै मतदाता शिक्षालाई पनि प्राथमिकतामा राखेको बताइएको छ।

नेपाली कांग्रेसले धादिङ क्षेत्र नम्बर २ मा ५५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्दै संगठनलाई थप व्यापक बनाएको छ। पार्टीले प्रचार–प्रसार, युवा परिचालन, मतदाता शिक्षा र आचारसंहिता अनुगमनका लागि छुट्टाछुट्टै उपसमिति गठन गरेको छ।

कांग्रेसले घरदैलो अभियान, मतदाता भेटघाट र स्थानीय मुद्दामा आधारित संवादलाई प्राथमिकता दिएको जनाएको छ। पार्टी नेतृत्वले लोकतान्त्रिक अभ्यास सुदृढ गर्दै नागरिकलाई सचेत र जिम्मेवार मतदाता बनाउने अभियानलाई समेत अघि बढाएको बताएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ निर्वाचन क्षेत्र नम्बर २ ले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जगत सिंखडाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ।

सोही अवसरमा सम्पन्न विस्तारित बैठकले संगठन विस्तार, युवा परिचालन र पालिकास्तरीय कार्यविभाजनमा जोड दिएको छ। बैठकले सातै स्थानीय तहमा जिम्मेवारी तोक्नुका साथै ६१ वटै वडामा वडा संयोजक र बुथ कमिटी गठन गर्ने निर्णय गरेको जनाएको छ।

यस निर्वाचनमा नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले पनि चुनावी प्रतिस्पर्धा रोचक बनेको छ। विशेषगरी युवापुस्ता, पहिलो पटक मतदान गर्ने मतदाता र पुराना दलबाट असन्तुष्ट मतदातालाई लक्षित गर्दै नयाँ दलहरूले वैकल्पिक राजनीतिक एजेन्डा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएपछि अबको समय मतदाता शिक्षासँगै मुद्दा केन्द्रित बहसको हो। उम्मेदवार र दलहरूले नागरिकलाई निर्वाचन प्रक्रिया, मतदानको महत्व र सही निर्णयको आवश्यकताबारे सचेत गराउनु लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष भएको उनीहरूको भनाइ छ।

जिल्लाभर बढ्दो चुनावी गतिविधिले मतदातामा चासो र सहभागिता बढ्ने अपेक्षा गरिएको छ। दलहरू र उम्मेदवारहरू आ–आफ्ना एजेन्डा र दृष्टिकोण प्रस्तुत गर्दै जनताको विश्वास जित्ने प्रयासमा जुटिरहेका छन्।

आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सहभागितामूलक बनाउन सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।