एमाले थाक्रे र धुनिवेशीमा निर्वाचन केन्द्रित बैठक सम्पन्न

319 पटक पढिएको

१२ माघ २०८२, सोमबार १८:५२ सम्पादक: धादिङ न्यूज

धादिङ । नेकपा (एमाले) थाक्रे गाउँपालिका कमिटी र धुनिवेशी नगरपालिका कमिटी धादिङको निर्वाचन केन्द्रित बैठक सम्पन्न भएको छ। बैठकले निर्वाचन केन्द्रीय योजना तर्जुमा गर्दै मूल निर्वाचन परिचालन समिति तथा विभिन्न उपसमितिहरू गठन गरेको छ।

थाक्रे गाउँपालिकामा सम्पन्न विस्तारित बैठकले गणेशमान वाईवाको संयोजकत्वमा ७७७ सदस्यीय पालिकास्तरीय मूल निर्वाचन परिचालन समिति गठन गरेको छ। साथै अनुगमन, प्रचार–प्रसार, युवा, महिला तथा आर्थिक परिचालन समिति गठन गर्दै ११ वटै वडामा बैठक र उम्मेदवारसहित घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। थाक्रेबाट कम्तीमा १० हजार मत सूर्यध्वजावाहक उम्मेदवारको पक्षमा खसाल्ने संकल्प पनि बैठकले गरेको छ।

यस्तै, धुनिवेशी नगर कमिटीको नवौँ पूर्ण बैठकले  दिनेश बाँस्कोटाको संयोजकत्वमा ५५५ सदस्यीय नगरस्तरीय मूल निर्वाचन परिचालन समिति गठन गरेको छ। बैठकले ९ वटै वडामा वडा बैठक र घरदैलो अभियान सञ्चालन गर्दै धुनिवेशीबाट कम्तीमा ६ हजार मत प्राप्त गर्ने लक्ष्य लिएको जनाएको छ।

दुवै बैठकमा एमाले धादिङ क्षेत्र नं. १ का उम्मेदवार  भुमि त्रिपाठी प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो भने  जगन्नाथ नेपाल र रमेश कुमार आचार्य विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

बैठकहरूले संगठनलाई चलायमान बनाउँदै चुनावी अभियानलाई तीव्र बनाउने निर्णय गरेका छन्।

नेकपा (एमाले) धादिङले आज  गंगाजमुना गाउँपालिका कमिटी र नेत्रावती डबजोङ गाउँपालिका कमिटीको निर्वाचन केन्द्रित विस्तारित बैठक तथा योजना निर्माण सम्पन्न गरेको जनाएको छ ।