निर्वाचनको विश्वसनीयता कायम राख्न आचारसंहिता पालनामा जोड

349 पटक पढिएको

१२ माघ २०८२, सोमबार २०:०० सम्पादक: धादिङ न्यूज

धादिङ। धादिङमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन*का तयारी र आचारसंहिता कार्यान्वयनबारे सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा सम्पन्न भएको हो।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिने जानकारी दिँदै सबै सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “निर्वाचन निष्पक्ष, स्वतन्त्र र मर्यादित रूपमा सम्पन्न गर्न लगभग सबै तयारी पूरा भएको छ। राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सञ्चारकर्मी सबैले आचारसंहिताको पालना गर्नुपर्नेछ।”

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन, सुरक्षा निकाय र निर्वाचन अधिकृतको कार्यालय पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको र सहकार्य र समन्वयमा आधारित चुनावी वातावरण सिर्जना गर्न सबैको पहल आवश्यक रहेको पनि जोड दिए।

निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत एकराज अधिकारीले मतदाता नामावली अद्यावधिक, मतदान केन्द्र व्यवस्थापन, सामग्री ढुवानी र कर्मचारी व्यवस्थापन योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिए। उनले आचारसंहिता उल्लङ्घन भए तत्काल जानकारी गराउन सञ्चारकर्मीहरूसँग आग्रह पनि गरे।

सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले मतदान अघिदेखि मतगणना पूरा नहुँदासम्म सुरक्षा सुनिश्चित गर्न तयारी पूरा भइसकेको बताए। धादिङमा ११ सय १५ नेपाल प्रहरी, ३ सय ५० शशस्त्र प्रहरी र २२ सय ६९ निर्वाचन प्रहरी परिचालन हुनेछ भने आवश्यकताअनुसार नेपाली सेनालाई पनि परिचालन गरिनेछ।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, पूर्व अध्यक्ष राजाराम शर्मा, कान्तिपुर टेलिभिजनका वरिष्ठ उपसम्पादक पोषनाथ अधिकारी ,अनलाइन मिडिया सोसाईटीका अध्यक्ष केशव अधिकारी लगायतले निर्वाचनको निष्पक्षता, सूचना प्रवाहको सहजता, पत्रकारको सुरक्षा तथा आचारसंहिता कार्यान्वयनमा समान व्यवहार हुनुपर्नेमा जोड दिएका थिए।

धादिङ जिल्लामा २ लाख ७५ हजार २ सय ८० मतदाता को लागि ३१० वटा मतदान केन्द्र तोकिएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा २३ र क्षेत्र नम्बर २ मा २४ गरी कुल ४७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको वताउँदै मिडियालाई भ्रम फैलाउने, अनुमानमा आधारित वा कुनै एक दलको पक्षमा झुकेको समाचार नलेख्न आग्रह गर्दै तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार पत्रकारिताबाट निर्वाचनको विश्वसनीयता कायम राख्नुपर्नेमा जोड दिनुभएको छ।

निर्वाचन आचारसंहिता पालना सबैका लागि अनिवार्य रहेको उल्लेख गर्दै उहाँले भन्नु भयो । , “निष्पक्ष र उत्तरदायी सञ्चार नै लोकतन्त्रको आधार हो।”