किराञ्चोक माविको स्वर्ण महोत्सव माघ १५ देखि १७ गते सम्म विविध कार्यक्रम सहित मनाईदै

403 पटक पढिएको

१४ माघ २०८२, बुधबार २१:०६ सम्पादक: धादिङ न्यूज

  • धादिङन्यूज समाचारदाता

धादिङ, १४ माघ- धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ पर्वाङमा अवस्थित किराञ्चोक माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा  माघ १५ गतेदेखि १७ गतेसम्म विविध कार्यक्रमसहित स्वर्ण महोत्सव आयोजना गर्ने भएको छ। विद्यालयले आधा शताब्दी लामो शैक्षिक यात्राको स्मरण गर्दै स्वर्ण महोत्सवलाई ऐतिहासिक, भव्य र अर्थपूर्ण रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

कुनै समयमा किराँतहरूले शासन गरेका कारण यस क्षेत्रलाई ‘किराँच चोक’ भनिन्थ्यो र यही नामबाट विकसित हुँदै आजको किराञ्चोक बनेको यहाँका बुढापाकाहरूको भनाइ छ। विक्रम संवत् २०३६ सालसम्म किराञ्चोक विस्तृत भूभागमा फैलिएको क्षेत्र थियो र ‘सात सय किराञ्चोक’ भनेर समेत चिनिन्थ्यो। समयक्रममा भूभाग विभाजन भई भौगोलिक क्षेत्रफल सानो भए पनि संघीयता लागू हुनु अघि २०७२ सालसम्म किराञ्चोक गाविसकै रूपमा कायम रहेको थियो। साविकको किराञ्चोक गाविस अहिले गजुरी गाउँपालिकाको वडा नम्बर ७ र ८ मा विभाजन गरिएको छ। यद्यपि, साविक किराञ्चोकको नाम, पहिचान र इतिहासलाई यहाँका बासिन्दाले अझै पनि विभिन्न माध्यमबाट जीवित राखिरहेका छन्।

यही ऐतिहासिक गाउँमा २०३२ सालमा कक्षा १ बाट सुरु भएको किराञ्चोक माध्यमिक विद्यालय आज कक्षा १२ सम्मको पठनपाठन सञ्चालन गर्ने अवस्थामा पुगेको छ। विद्यालयले स्थापनाकालदेखि हालसम्म गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप तथा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गर्दै आएको जनाएको छ। पालिकास्तर तथा जिल्लास्तरमै नमुना विद्यालयका रूपमा विकास गर्ने दीर्घकालीन उद्देश्यसहित स्वर्ण महोत्सवलाई विद्यालयको समग्र विकाससँग जोडेर अघि बढाइएको विद्यालयको भनाइ छ।

विद्यालयको शैक्षिक यात्रा सहज भने थिएन। २०४४ सालमा कक्षा ६ सञ्चालन गरिए पनि त्यसले निरन्तरता पाउन सकेन। त्यसपछि २०५२ सालमा प्रवाङ क्षेत्रबाट किराञ्चोकको तल्लो भाग अर्थात् बेशी क्षेत्रका बासिन्दालाई पायक पर्ने गरी दुलनटारमा स्थानान्तरण गरी निम्न माध्यमिक विद्यालय सञ्चालन गरिएको थियो। उक्त स्थानमा त्यस समय रहेको पञ्चायत भवनलाई केही वर्षअघिसम्म ‘भुवन घर’ नामले पनि चिनिन्थ्यो।

चारवटा मात्र प्राथमिक दरबन्दी रहेको अवस्थामा निम्न माध्यमिक तह सञ्चालन गर्नु चुनौतीपूर्ण थियो भने माध्यमिक तह थप्नु झनै कठिन कार्य मानिन्थ्यो। तर विद्यालय नेतृत्व, शिक्षकहरूको समर्पण, स्थानीय समुदायको सामूहिक प्रतिबद्धता र जनआवश्यकताका कारण विद्यालयले माध्यमिक तहसम्म विस्तार गर्न सफलता प्राप्त गर्‍यो। २०५८ सालमा देउसी–भैलो खेली श्रोत संकलन गर्दै माध्यमिक तह सञ्चालनको आधार तयार गरिएको थियो।

विद्यालयले २०५८ सालदेखि माध्यमिक तह सञ्चालन सुरु गरेको हो। २०५९ सालको एसएलसी परीक्षा विद्यार्थीहरूले सत्यवती माध्यमिक विद्यालयबाट दिएका थिए भने २०६० सालदेखि आफ्नै विद्यालयबाट एसएलसी तथा पछि एसईई परीक्षा सञ्चालन हुँदै आएको छ। त्यसैगरी, २०६७ सालदेखि कक्षा १२ को पठनपाठन पनि सञ्चालनमा आएको छ। पछिल्ला वर्षहरूमा विद्यालयले सप्ताह महायज्ञ आयोजना गरी समेत श्रोत संकलन गर्दै शैक्षिक तथा भौतिक विकासलाई निरन्तरता दिँदै आएको छ।

विद्यालयकी प्रधानाध्यापक गीता पाण्डेका अनुसार हालसम्म यस विद्यालयबाट ९८१ जना विद्यार्थीले एसएलसी तथा एसईई परीक्षा उत्तीर्ण गरिसकेका छन् भने ४९० जनाले कक्षा १२ उत्तीर्ण गरेका छन्। विद्यालयमा आवासीय शिक्षण व्यवस्था सञ्चालन भए पनि त्यसलाई अझ व्यवस्थित बनाउन नसकिएको र स्वर्ण महोत्सवबाट संकलन हुने श्रोतलाई छात्रावास व्यवस्थापन, पूर्वाधार सुधार, गुणस्तरीय शिक्षाको विस्तार तथा अक्षयकोष स्थापनामा परिचालन गर्ने योजना रहेको उनले जानकारी दिइन्।

स्वर्ण महोत्सवका अवसरमा विद्यालयको विकासमा योगदान पुर्‍याएका पूर्व पदाधिकारी, शिक्षक, कर्मचारी तथा सहयोगीहरूलाई सम्मान गरिनेछ। साथै सांस्कृतिक कार्यक्रम, शैक्षिक सामग्री प्रदर्शनी तथा मेला, अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता लगायतका कार्यक्रमसमेत आयोजना गरिने विद्यालयले जनाएको छ। विद्यालयलाई आर्थिक सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई योगदानको आधारमा सम्मान गर्ने व्यवस्था समेत गरिएको छ।

विद्यालय परिवारले आधा शताब्दीको गौरवमय यात्रालाई साझा उपलब्धिका रूपमा स्मरण गर्दै स्वर्ण महोत्सव सफल बनाउन सबैको सक्रिय सहभागिता, सहयोग र सद्भावको अपेक्षा गरेको छ।