पश्चिमी वायुको प्रभाव: तराईमा हुस्सु र हिमालमा हिमपातको सम्भावना

231 पटक पढिएको

१८ माघ २०८२, आईतवार ०६:१९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमको हिमाली भू-भागमा आंशिक बादल लागेको छ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको विभागले जानकारी दिएको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेश लगायत बाँकी हिमाली क्षेत्रमा आंशिक बादल रहनेछ। विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात वा वर्षाको समेत सम्भावना रहेको छ।

यसैगरी धादिङ जिल्लाको सदरमुकाम नीलकण्ठ र आसपासका क्षेत्रमा आज मौसममा आंशिक बदली रहने सम्भावना छ। पहाडी भू-भाग भएकाले यहाँ चिसोको प्रभाव केही बढी रहने र साँझपख पुनः बादल लाग्न सक्ने देखिएको छ। तराईमा लाग्ने बाक्लो हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने तथा हिमाली भेगमा हुने हिमपातले जनजीवनमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।