टी-२० विश्वकप वार्मअप: नेपालले आज क्यानडासँग खेल्दै, तयारी बलियो बनाउने लक्ष्य

370 पटक पढिएको

२२ माघ २०८२, बिहीबार ०७:३१ सम्पादक: धादिङ न्यूज

काठमाडौँ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो तथा अन्तिम वार्मअप खेलमा क्यानडाको सामना गर्दैछ। भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने यो खेल दिउँसो १:१५ बजे सुरु हुनेछ। यसअघि भएको पहिलो वार्मअप खेलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले सुखद सुरुवात गरिसकेको छ भने क्यानडा इटालीसँग १० रनले पराजित भएको थियो।

रोहित पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन्। विश्वकपको समूह ‘सी’ मा रहेको नेपालले फेब्रुअरी ८ मा इंग्ल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपालका सबै समूह चरणका खेलहरू मुम्बईको वांखडे स्टेडियममा हुने तालिका छ, जहाँ नेपालले इंग्ल्याण्डबाहेक इटाली, वेस्ट इन्डिज र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।