आज कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
266 पटक पढिएको
काठमाडौँ, २४ माघ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका कतिपय भू-भागमा मौसममा परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
अहिले कोशी प्रदेशलगायत देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानहरूमा हुस्सु लागिरहेको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ। तराईका धेरैजसो स्थानमा भने दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने देखिएको छ। कोशी र गण्डकीका उच्च हिमाली भेगमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने छ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहनेछ। तराईमा रातिको समयमा पनि हुस्सु लाग्न सक्ने भएकाले चिसोबाट बच्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।






