देशभर आंशिकदेखि सामान्य बदली, पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
271 पटक पढिएको
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहने सङ्केत देखिएको छ।
अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने बाँकी भू-भागमा मौसम आंशिक सफा रहेको छ। कोशी, बागमती र गण्डकी लगायतका केही पहाडी क्षेत्रका एक-दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्र तथा लुम्बिनीको तराई भेगमा पनि एक-दुई स्थानमा फाट्टफुट्ट वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।
आज राती पनि देशभरको पहाडी भू-भागमा मौसम साधारणतया बदली नै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा राती पनि हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना कायमै रहनेछ। बाँकी क्षेत्रमा भने मौसम क्रमिक रूपमा सफा हुँदै जाने देखिएको छ। वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।







