आज पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

240 पटक पढिएको

१६ चैत्र २०८२, सोमबार ०६:२१ सम्पादक: धादिङ न्यूज

काठमाण्डौं, १६ चैत । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको समेत प्रभाव देखिएकाले देशभरिको मौसममा आंशिकदेखि साधारणतया बदली भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू-भागमा बादल लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैगरी मधेश प्रदेशसहित कोशीको तराई भू-भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अन्य भू-भागमा भने मौसम आंशिक बदली रहने देखिन्छ।

आज राती पनि पहाडी र हिमाली भेगमा मौसम सामान्यतया सफा रहने छैन। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी भू-भागमा बादल लाग्ने र कोशी, गण्डकी तथा सुदूरपश्चिमका केही उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। मौसममा देखिएको यो परिवर्तनले तापक्रम र जनजीवनमा पर्न सक्ने प्रभावप्रति सचेत रहन विभागले आग्रह गरेको छ।