आज पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

239 पटक पढिएको

१८ चैत्र २०८२, बुधबार ०६:३२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १८ चैत । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदलीको अवस्था छ। गण्डकी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको विभागले जनाएको छ।

आज दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बदली रहने तथा पहाडी र तराईका क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहने र बाँकी हिमाली भू–भागमा आंशिक बदली हुने देखिएको छ। पहाडी तथा तराईका अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।