पत्रकारितामा एआईको प्रयोग सम्बन्धी धादिङका पत्रकारलाई प्रशिक्षण

269 पटक पढिएको

२१ चैत्र २०८२, शनिबार ०७:०९ सम्पादक: धादिङ न्यूज

धादिङ, २१ चैत ।धादिङ जिल्लामा क्रियाशील पत्रकारहरूलाई आधुनिक प्रविधिको प्रयोगमार्फत दक्ष बनाउने उद्देश्यले पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात कृत्रिम बौद्धिकताको प्रयोग सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रम शुक्रवार धादिङबेसीमा सम्पन्न भएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश र धादिङ शाखाको सहकार्यमा आयोजित उक्त कार्यक्रममा प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा भित्रिएका नयाँ आयामबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा प्रशिक्षकद्वय अजय शर्मा र राजन न्यौपानेले डिजिटल साक्षरता, सुरक्षित सर्च इन्जिनको पहिचान र एआईलाई सही निर्देशन दिएर समाचार सामग्री उत्पादन गर्ने तरिकाबारे व्यावहारिक ज्ञान प्रदान गर्नुभएको थियो ।

पछिल्लो समय विश्वभर चर्चामा रहेको एआई प्रविधिले पत्रकारको कार्यक्षमता बढाउन, समाचार संकलनलाई छिटो छरितो बनाउन र सामग्रीको गुणस्तर सुधार्न निकै सहयोग पुग्ने प्रशिक्षकहरूको भनाइ थियो ।

विशेषगरी लामो लेख वा अन्तर्वार्तालाई संक्षेपीकरण गर्न, भाषागत शुद्धता कायम गर्न, सूचनाको विश्लेषण गर्न र विभिन्न भाषामा रहेका सामग्रीलाई तुरुन्तै अनुवाद गरी प्रयोग गर्न एआई निकै प्रभावकारी देखिएको छ । यसका साथै समाचारका लागि आवश्यक पर्ने तस्विर र भिडियो उत्पादनमा पनि यो प्रविधिले पत्रकारको समय र श्रमको बचत गर्ने बताइएको थियो ।

जिल्ला समन्वय समिति धादिङका उप प्रमुख कलमान विकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै वक्ताहरूले प्रविधिले चुनौती र अवसर दुवै ल्याएको चर्चा गर्नुभयो । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी र मन्त्रालयका महाशाखा प्रमुख पदम ओझाले पत्रकारहरू प्रविधिमैत्री बन्नुको विकल्प नरहेको बताउनुभयो । पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा केन्द्रीय प्रतिनिधि केशव अधिकारी र धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सके मात्र समाचारको विश्वसनीयता बढ्ने र पाठकको मन जित्न सकिने धारणा राख्नुभयो ।

एआईको प्रयोगले तथ्याङ्क पत्रकारितालाई सहज बनाउने, फेक न्युज वा भ्रामक सूचनाको पहिचान गर्न सघाउने र पत्रकारलाई नयाँ विषयवस्तु खोज्न प्रेरित गर्ने भएकाले यो कार्यक्रम धादिङका पत्रकारका लागि फलदायी भएको सहभागीहरूले बताएका छन् । मन्त्रालयकी अधिकृत रविता कार्की लगायतको उपस्थिति रहेको सो कार्यक्रममा पत्रकारहरूले प्रविधिको प्रयोग गर्दा पत्रकारिताको मूल्य र मान्यतालाई जोगाउँदै सत्य र तथ्यपरक सूचना प्रवाहमा जोड दिने प्रतिबद्धता समेत जनाएका छन् ।