संसदीय समितिमा धादिङका सांसदको उपस्थिति, कुन–कुन समितिमा को ?
733 पटक पढिएको
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत विषयगत समितिहरू गठन भएसँगै धादिङबाट निर्वाचित सांसदहरू विभिन्न महत्वपूर्ण समितिमा सदस्यका रूपमा चयन भएका छन् । यसले धादिङको प्रतिनिधित्व संसद्का नीति निर्माण तथा अनुगमनका प्रमुख संयन्त्रहरूमा बलियो बनेको देखिएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले सभामुख डोलप्रसाद अर्याल ले प्रस्तुत गरेको समिति गठनसम्बन्धी प्रस्ताव पारित गरेसँगै सांसदहरूको जिम्मेवारी टुंगिएको हो ।
धादिङबाट प्रतिनिधित्व गर्ने सांसदहरूमध्ये शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सीता थपलिया सदस्यका रूपमा चयन भएकी छन् । पूर्वाधार विकास समितिमा बोध नारायण श्रेष्ठ सदस्य रहेका छन् ।
यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आसिका तामाङ र वसुमाया तामाङ सदस्य चयन भएका छन् । कानून, न्याय तथा मानवअधिकार समितिमा सरस्वती लामा सदस्य रहेकी छन् भने उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा गंगादेवी श्रेष्ठ सदस्य चयन भएकी छन् ।
त्यसैगरी, अर्थ समितिमा पुष्पराज कडेल सदस्य बनेका छन् ।
प्रतिनिधिसभाअन्तर्गत १० वटा विषयगत समिति रहेका छन्, जसले कानून निर्माण, विकास, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका विषयमा अध्ययन, अनुगमन तथा सुझाव दिने काम गर्छन् । समितिहरूका सभापतिहरूको निर्वाचन आगामी वैशाख ४ गतेका लागि तय गरिएको छ ।
धादिङका सांसदहरू महत्वपूर्ण समितिहरूमा समेटिएकाले जिल्लासँग सम्बन्धित विकास, पूर्वाधार, कृषि र सामाजिक क्षेत्रका मुद्दा अब संसद्मा प्रभावकारी रूपमा उठ्ने अपेक्षा गरिएको छ ।







