केपी ओली र रमेश लेखकमाथि पुन अनुसन्धान सुरु

246 पटक पढिएको

४ बैशाख २०८३, शुक्रबार १९:३८ सम्पादक: धादिङ न्यूज

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको विषयलाई लिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि औपचारिक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। गत चैत १४ गते पक्राउ परी हाल हाजिरी जमानीमा रहेका दुवै नेताविरुद्ध प्रहरीले सक्रियता बढाएको हो।

आन्दोलनका क्रममा मृत्यु भएका ४२ जनाका परिवारले दिएको उजुरीका आधारमा यो अनुसन्धान थालिएको हो। यसअघि जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले असोज २७ गते उक्त जाहेरीहरूलाई तामेलीमा राख्ने निर्णय गरेको थियो। तर, आन्दोलनका घटनाबारे जाँचबुझ गर्न बनेको उच्चस्तरीय आयोगको सिफारिसपछि प्रहरीले तामेलीमा रहेको जाहेरीलाई पुनः जगाउने निर्णय गरेको हो।

काठमाडौं प्रहरीका एसपी पवन भट्टराईका अनुसार घटनामा ज्यान गुमाएकामध्ये सातवटा शवको अझै पहिचान हुन सकेको छैन। “अज्ञात रहेका शवहरूको पहिचानका लागि हाल डीएनए परीक्षणको प्रक्रिया जारी छ,” भट्टराईले जानकारी दिए।

आयोगले प्रदर्शनका क्रममा अनावश्यक बल प्रयोग भएको र त्यसको जिम्मेवारी तत्कालीन नेतृत्वले लिनुपर्ने निष्कर्ष निकालेपछि यो मुद्दाले नयाँ मोड लिएको हो। प्रहरीले अब पीडित परिवारको बयान र आयोगको प्रतिवेदनलाई मुख्य प्रमाणका रूपमा लिएर थप कानुनी कारबाही अघि बढाउने तयारी गरेको छ।