संस्कृति जोगाउन युवाको अभियान: नीलकण्ठ-१२ पशुपति मन्दिरमा सुरु भयो साप्ताहिक भजन कीर्तन

167 पटक पढिएको

६ बैशाख २०८३, आईतवार ०७:०० सम्पादक: धादिङ न्यूज

धादिङ, ६ वैशाख ।धादिङबेंसीस्थित श्री पशुपतिनाथ मन्दिर परिसरमा वैशाख ५ गते शनिबारदेखि हरेक शनिबार भजन कीर्तन कार्यक्रमको  सुरुवात भएको छ । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय युवाहरूको समूह ‘एमआरआर’ को अगुवाइमा यो अभियान सुरु गरिएको हो ।

भजन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नीलकण्ठ नगरपालिका वडा नं. १२ स्थित पशुपति मन्दिर प्राङ्गणमा यो अभियान थालिएको हो । सामाजिक कार्य, आपत-विपतमा स्वयंसेवा र विभिन्न सचेतनामूलक अभियानमा सक्रिय रहँदै आएका यी युवा समूहहरूले पछिल्लो समय देशव्यापी रूपमा भजन संस्कृति विकास अभियानलाई अगाडि बढाइरहेका छन् ।

वैशाख ५ गते शनिबारबाट सुरु भएको यो भजन कार्यक्रम प्रत्येक शनिबार साँझ ५ बजेदेखि ६ बजेसम्म निरन्तर सञ्चालन हुने आयोजकले जनाएका छन् । पछिल्लो पुस्तामा हराउँदै गएको मौलिक संस्कृति र आध्यात्मिक चेतनालाई जागृत गराउन मन्दिर परिसरमा भजन कीर्तनको सुरुवात गरिएको बताइएको छ । कार्यक्रममा स्थानीय श्रद्धालु तथा युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।