नेपालीलाई प्रविधिमार्फत आत्मनिर्भर बनाउने डिजिटल क्रान्ति फेसबुक मोनिटाइजेसन र ‘एमडीआर’ अभियान
317 पटक पढिएको
काठमाडौँ, ६ वैशाख । फेसबुक मोनिटाइजेसन नेपालका लागि औपचारिक रूपमा खुला भएसँगै यतिबेला धेरै नेपालीहरू यसलाई वैकल्पिक आम्दानीको बलियो स्रोत बनाउन उत्साहित देखिएका छन्। यही उत्साह र डिजिटल सम्भावनाका बीच ओखलढुङ्गामा जन्मिएर हाल अमेरिकालाई कर्मथलो बनाउनुभएका कम्प्युटर इन्जिनियर केदार तिमिल्सिनाले नेपालीहरूलाई प्रविधिमार्फत आत्मनिर्भर बनाउन ‘एमडीआर’ नामक एक बृहत् अभियानको नेतृत्व गरिरहनुभएको छ।
सन् २०२६ जनवरी १८ मा गठन भएको यो एमडीआर टोली जनवरी २२ देखि तिमिल्सिनाको नेतृत्वमा पूर्ण रूपमा सक्रिय भएको हो। विशेषगरी ग्रामीण भेगका ती नागरिकहरू, जोसँग सिर्जनात्मक क्षमता भए तापनि फेसबुकको प्राविधिक पक्ष र यसबाट हुने कमाइबारे अनविज्ञ छन्, उनीहरूलाई लक्षित गरी यो अभियानको थालनी गरिएको हो। छोटो समयमै यो अभियानले ठूलो सफलता प्राप्त गर्दै हाल नेपालका ७७ वटै जिल्ला र विदेशका २३ भन्दा बढी देशहरूमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ।
फेसबुक मोनिटाइजेसनका लागि आवश्यक पर्ने निश्चित मापदण्डहरू जस्तै फलोअर्स वृद्धि र भ्युज (वाच टाइम) पूरा गर्न तथा भिडियो अपलोड गर्दा आउने विभिन्न प्राविधिक समस्याहरू समाधान गर्न यस समूहले निःशुल्क परामर्श र सहयोग उपलब्ध गराउँदै आएको छ। अभियानलाई थप प्रभावकारी र व्यवस्थित बनाउन १०० जनाको मुख्य विशेषज्ञ टोलीलाई ‘नेपाल भाइरल मोनिटाइजेसन’, ‘डिजिटल कमाइ चौतारी’ र ‘प्रदेशमा नेपाली मन’ गरी तीनवटा उप-समूहमा विभाजन गरिएको छ।
यस अभियान अन्तर्गत प्रयोगकर्ताका समस्याहरूलाई विधागत रूपमा समाधान गर्न छुट्टाछुट्टै ‘हेल्प टिम’ समेत निर्माण गरिएको छ। जसमा अमृत गुरुङ, शुभेच्छा फुयाल र सबिन श्रेष्ठले फलोअर्स वृद्धि गर्ने उपाय र नयाँ आइडियाहरू प्रदान गरिरहनुभएको छ भने गङ्गाराम मिश्रको टोलीले कपीराइट र पोलिसी भाइलेसन जस्ता जटिल प्राविधिक समस्याहरू सुल्झाउने कार्यमा सक्रियता देखाएको छ। त्यसैगरी, गुणस्तरीय भिडियो निर्माणका लागि नन्दा रिजाल, रिना दाहाल, जुनु थापा र टिका राउतको टोलीले क्रिएटरहरूलाई गाइड गरिरहेको छ।
अभियानलाई अनुशासित र मर्यादित बनाउन रिना दाहाल, अन्जना श्रेष्ठ र बिमला पौडेलको टोली खटिएको छ भने आम्दानी व्यवस्थापन अर्थात् पे-आउट र ट्याक्स सम्बन्धी कानुनी एवं प्राविधिक पक्षमा घनश्याम भुसाल, राजेन्द्र प्रसाद रेग्मी, महेन्द्र गौतम, लक्ष्मीप्रसाद बास्कोटा र पूजा घिमिरेले सहजीकरण गरिरहनुभएको छ। नयाँ सदस्यहरूलाई प्रविधिमा अभ्यस्त गराउन एमडीआर टोलीले हरेक दिन बेलुका ७:३० बजे फेसबुक लाइभमार्फत प्रशिक्षण दिने गरेको छ। मुख्य अभियन्ता केदार तिमिल्सिना आफैँ पनि हरेक शनिबार र आइतबार बेलुका ८ बजे लाइभमा जोडिएर प्रयोगकर्ताका जिज्ञासाहरूको प्रत्यक्ष समाधान गर्नुहुन्छ। यसका साथै महिनामा दुई पटक जुम एपमार्फत विशेष प्राविधिक तालिम पनि प्रदान गर्ने व्यवस्था मिलाइएको छ।
यो अभियानमा हाल कृषक, गृहणी, विद्यार्थीदेखि लिएर सरकारी कर्मचारी र अवकाशप्राप्त सुरक्षाकर्मीहरूसमेत ठूलो संख्यामा जोडिएका छन्। इन्जिनियर तिमिल्सिनाको मुख्य जोड सधैँ आफ्नै मौलिक भिडियो र समाजका लागि सन्देशमूलक सामग्री निर्माणमा रहने गरेको छ। कुनै पनि व्यक्तिगत स्वार्थबिना नेपालीहरूलाई प्रविधिको सही सदुपयोग सिकाएर उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु नै यो अभियानको मूल मर्म रहेको छ।







