आज कोशी, बागमती र गण्डकीका पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने
384 पटक पढिएको
काठमाडौँ, ७ वैशाख । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।
यसकै प्रभावका कारण आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत अन्य हिमाली क्षेत्रमा साधारणतया बदली रहने देखिन्छ। सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई क्षेत्र र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहे पनि देशका अन्य भागमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भाग लगायत देशका अन्य हिमाली क्षेत्रका थोरै स्थानहरूमा र बागमती तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। यसैगरी मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका साथै विभिन्न उपत्यका र खोँचहरूमा तापक्रम बढेर तातो दिन हुने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
आज रातीको समयमा देशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने पहाडी भू-भागमा आंशिक बदली हुने देखिएको छ। तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ। रातीको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मौसममा देखिएको यो फेरबदल र केही स्थानमा हुन सक्ने मेघगर्जन तथा चट्याङ्गका कारण हुन सक्ने जोखिमबाट बच्न र आवश्यक तयारी गर्न विभागले सबैमा आग्रह गरेको छ।







