सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य, १५-१५ दिनमा प्रमाणित गराउनुपर्ने
177 पटक पढिएको
काठमाडौं । नेपाल सरकारले सबै सरकारी निकाय र स्थानीय तहमा कर्मचारीहरूको उपस्थितिलाई व्यवस्थित बनाउन विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै एक पत्र जारी गर्दै सबै मन्त्रालय, विभाग, कार्यालय र निकायहरूका साथै ७५३ वटै स्थानीय तहलाई विद्युतीय हाजिरी अनिवार्य गर्न भनेको हो।
मन्त्रालयको निर्णय अनुसार, अब कर्मचारीको दैनिक कार्यालय आउने र जाने समयको विवरण अनिवार्य रूपमा विद्युतीय प्रणालीबाटै राख्नुपर्नेछ। साथै, प्रत्येक १५ दिनमा हाजिरीको विवरण प्रिन्ट गरी प्रमाणित गरेर कार्यालयमा सुरक्षित अभिलेख राख्नुपर्ने व्यवस्था समेत मिलाउन मन्त्रालयले निर्देशन दिएको छ।
प्रशासनिक सुधार तथा व्यवस्थापन परीक्षण शाखाका अनुसार कर्मचारीहरूको नियमित उपस्थिति सुनिश्चित गरी सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन यो कदम चालिएको हो। यसअघि कतिपय कार्यालयमा विद्युतीय हाजिरी भए पनि त्यसको नियमित प्रमाणित र अभिलेख राख्ने कार्यमा ढिलाइ हुने गरेको गुनासो आएपछि मन्त्रालयले यस्तो ताकेता गरेको हो।







