माटोमा खेलेरै वर्षको १५ लाख कमाई

583 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, पुस १२ – खाडी मुलुकमा गएर पसिना बगाउनु भन्दा मेहनत र परिश्रम गरे आफ्नै गाउँमा बसेर पनि जीवन राम्रैसँग विताउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, धादिङ जीवनपुरका कृष्णकुमार रेग्मी ।

घरमै बसेर तरकारी खेती तथा पशुपालनमा लागेका रेग्मीले वर्षमा १५ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । रेग्मीले जीवनपुर गाविसको वडा नं ९ सतासी बाह्रबीसेमा ५० रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गर्न थालेको २० वर्ष भइसकेको छ । रेग्मीले आफ्नो कृषि फार्ममा वर्षायाममा मौसमी तरकारी बाली र गर्मी याममा बैमौसमी तरकारी रोप्नुहुन्छ ।

काउली, ब्रोकाउली, गोलभेंडा, घिउसिमी, खुर्सानी, मुला, रायोको साग, केराउ, फर्सी, काँक्रो, लौका, तीतेकरेला, घिरौँला, रामपुरिया, धनियाँ, प्याज, लसुन, चम्सुर लगायत दुई दर्जन भन्दा बढिजातका तरकारी बालीबाट वार्षिक १५ लाख रुपैयाँको आम्दानी गर्दै आएको रेग्मी बताउनुहुन्छ ।

व्यवसायिक रुपमा तरकारी तथा पशुपालनमा लागेका रेग्मीले एकीकृत एग्रो केयर फार्म खोलेर तरकारी तथा बीउविजनको समेत बिक्री बितरण समेत सुरु गर्नुभएको छ ।

रेग्मीको फार्ममा अहिले उन्नत जातका खसी, बोकाका साथै कुखुरादेखि ताजा तरकारी पाइने गर्दछ । घर खर्च चलाउने सहयोगी पेशाका रुपमा रेग्मीले २०५३ सालमा घरमै कुखुरापालन सुरु गर्नुभएको थियो ।

कुखुराबाट राम्रो आम्दानी हुन थालेपछि तरकारी खेती र कुखुरापालनमा लगानी बढाउँदै मुख्य पेशा बनाएको उहाँले बताउनुभयो । रेग्मीको फार्ममा पाँचजनाले मासिक ज्याला पाउने गरी रोजगारी पाएका छन् भने सात जनाले आंशिक रुपमा रोजगारी पाएका छन् ।

रेग्मीका तीन छोरी र एक छोरा अहिले गाउँकै विद्यालयमा पढ्दैछन् । रेग्मी नमुना कृषक मात्र नभएर तरकारी खेती गर्दागर्दै कृषि प्राविधिक समेत भइसकेको जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि विकास अधिकृत होमराज बिष्ट वताउनुहुन्छ ।

जिवनपुर गाविसका अधिकांश किसानले व्यवसायिक रुपमा तरकारी खेती गर्दैआइरहेका छन् । किसानले यहाँ उत्पादित तरकारी काठमाडौंको कालिमाटीमा लगेर बिक्री गर्ने गर्छन् । तरकारी खेती सुरु गरेपछि आपूmहरुको जीवनस्तर परिवर्तन भएको गाउँवासी वताउँछन् ।

थोरै उत्पादन हुनेहरुका लागि पनि बजार टाढा छैन । आधा घण्टाको पैदल दूरीमा रहेको धार्केको तरकारी संकलन केन्द्र तरकारी तथा फलफूल उत्पादक किसानहरुको मुख्य बजार हो । धादिङको जीवनपुर, केवलपुर, थाँक्रे, तसर्पु, नौविसेका साथै नुवाकोटको कुमरी, चाउथे लगायत आसपासको विभिन्न गाविसमा उत्पादित तरकारी बाली धार्के बजारमै खपत हुने गरेको छ ।

व्यवसायिक रुपमा तरकारी तथा पशुपालन गर्दै आईरहेका किसानहरुले छोराछोरीलाई पढाइ खर्च, लत्ताकपडा, माछामासु, भाँडाकुँडा, गरगहना किन्ने र घरखर्च धानेर पनि विभिन्न ठाउँमा घरघडेरी जोडिसकेको उनीहरु बताउँछन । तरकारी खेती सुरु गरेको १० वर्षमै  ५०/६० लाख रुपैयाँको सम्पत्ति आर्जन गर्ने किसानहरुको संख्या निकै नै रहेको छ । जीवनपुर, केवलपुर, नौविसे लगायतका गाविसका विभिन्न स्थानमा यतिवेला तरकारीको बीऊ हुर्काउनका लागि ठाउँठाउँमा प्लाष्टिकका घर, वनाइएका छन् ।

तरकारी तथा फलफूल खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि बैदेशिक रोजगारीमा जाने सपना देखेका युवाहरु समेत घरमै वसीबसी राम्रो आम्दानी लिन पाउँदा निकै खुसी देखिन्छन ।

-उज्यालो अनलाईनबाट