धादिङको गल्छीमा सडक विवादले उग्र रूप लिँदै: सेनाको ब्यारेक जाने बाटोमा स्थानीय र जग्गाधनीबीच टकराव
536 पटक पढिएको
धादिङ – २०८३ वैशाख २७ । पृथ्वी राजमार्गको बैरेनी अस्पतालबाट श्री नं. ६ बाहिनी अड्डा जोड्ने भित्री सडकको स्वामित्वलाई लिएर सुरु भएको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ। गल्छी गाउँपालिका–६ मा पर्ने यो सडक खण्डमा स्थानीय बासिन्दा र जग्गाधनी पक्षबीचको खिचातानीले गर्दा सो क्षेत्रको जनजीवन प्रभावित हुनुका साथै सुरक्षा संवेदनशीलतामा समेत प्रश्न उठेको छ ।
स्थानीयका अनुसार उक्त सडकको इतिहास ६ दशक पुरानो छ। पृथ्वी राजमार्ग निर्माणको क्रममा वि.सं. २०२४/२५ सालतिर नै यसको ट्रयाक खोलिएको थियो। पछि वि.सं. २०४४ सालमा श्री नं. ६ बाहिनी अड्डा स्थापना भएपछि पुरानो गोरेटो बाटोलाई विस्तार गरी सेनाको गाडी गुड्ने सडक बनाइएको थियो।
लामो समयसम्म सैनिक ब्यारेक र स्थानीयको साझा मार्गका रूपमा प्रयोग हुँदै आएको यो सडकमा अहिले जग्गाधनी रामकृष्ण श्रेष्ठले ‘आफ्नो निजी लालपुर्जाभित्रको जग्गा’ भएको दाबी गर्दै अवरोध खडा गरेपछि समस्या जटिल बनेको हो ।
श्रेष्ठ परिवारले सडक विस्तारका नाममा पटक-पटक आफ्नो नम्बरी जग्गा मिचिएको र क्षतिपूर्ति विना नै व्यक्तिगत सम्पत्तिमाथि हस्तक्षेप भएको आरोप लगाएका छन्। उनीहरूले आफ्नो भोगाधिकार भित्रको जग्गामा सडक सञ्चालन गर्न नदिने अडान राख्दै आएका छन्।
सडकको दायाँ-बायाँ जग्गा किनेर घर बनाएका स्थानीयहरू अहिले बाटो ठप्प हुँदा मर्कामा परेका छन्। बाटोमा अवरोध हुँदा आकस्मिक बिरामी उपचारमा लैजान, खाद्यान्न तथा अत्यावश्यक सामान ढुवानी गर्न र दैनिक आवतजावतमा समेत समस्या परेपछि उनीहरूले वर्षौंदेखि चलिआएको बाटो बन्द गर्न नहुने माग गरेका छन्।
गल्छी गाउँपालिकाले यसलाई सार्वजनिक सरोकारको विषय भन्दै जनप्रतिनिधि र सुरक्षाकर्मीको उपस्थितिमा जेसिबी प्रयोग गरी अवरोध हटाउने प्रयास गरेको थियो।
यो विवाद अहिले कानुनी दाउपेचमा अल्झिएको छ। गाउँपालिकाको न्यायिक समितिले सडक खोल्नुपर्ने निर्णय सुनाए पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन। जग्गाधनी पक्षले पालिकाको निर्णयप्रति असहमति जनाउँदै जिल्ला अदालत धादिङमा मुद्दा दायर गरेका छन्।
गाउँपालिकाका न्यायिक सहजकर्ता श्रीराम खतिवडाका अनुसार, “वर्षौंदेखि सडकका रूपमा प्रयोग भइरहेको र सार्वजनिक बजेट समेत खर्च भइसकेको स्थानमा अवरोध गर्नु कानुन विपरीत हो।” तर, जग्गाधनी पक्षले भने अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पालिकाले शक्तिको दुरुपयोग गरी जबर्जस्ती गर्न खोजेको आरोप लगाएको छ।
गाउँपालिकाले हटाएको अवरोधलाई पुनः मेशिन प्रयोग गरी जग्गाधनी पक्षले बन्द गरिदिएपछि अहिले यस क्षेत्रमा तनाव व्याप्त छ। सेनाको ब्यारेक जाने संवेदनशील बाटो नै अवरुद्ध हुँदा समेत ठोस निकास निस्कन नसक्नुले स्थानीय प्रशासनको निरीहता प्रकट भएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन्।







