पृथ्वी राजमार्गको जुगेखोलामा ‘अमृतम् शाकाहारी रेस्टुरेन्ट’ सञ्चालनमा

426 पटक पढिएको

२ जेष्ठ २०८३, शनिबार २०:२७ सम्पादक: धादिङ न्यूज

रामचन्द्र रुपाखेती

धादिङ, २ जेठ    देशको प्रमुख र व्यस्त राजमार्गको रूपमा रहेको पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रु तथा शाकाहारी भोजन प्रेमीहरूलाई लक्षित गर्दै धादिङको थाक्रे गाउँपालिका–७, जुगेखोलामा ‘अमृतम् शाकाहारी रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ । काठमाडौँबाट करिब ३० किलोमिटर पश्चिममा अवस्थित यस रेस्टुरेन्टको बिहीबार एक विशेष समारोहका बीच शुभारम्भ गरिएको हो    

पछिल्लो समय मानिसहरूमा शाकाहारी भोजनप्रतिको आकर्षण बढ्दै गएको र राजमार्ग क्षेत्रमा स्तरीय शाकाहारी होटलको अभावमा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै यो रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । विशेष गरी पशुपतिनाथको दर्शन गर्न जाने तीर्थयात्रीहरू र धार्मिक क्रियाकलापमा संलग्न व्यक्तिहरूले राजमार्गमा शुद्ध, सफा र अर्ग्यानिक खाना खान नपाउँदा भोकै बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न यो पहल गरिएको सञ्चालक किरण रुपाखेतीले बताउनुभयो ।

रेस्टुरेन्टको शुभारम्भ कार्यक्रममा जीवन विज्ञानका संस्थापक एवं आध्यात्मिक गुरु रमेश गुरुदेवसहित स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा शिक्षा क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सो अवसरमा गुरुदेवले सात्विक भोजनले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा पुर्‍याउने सकारात्मक प्रभावका बारेमा चर्चा गर्नुभएको थियो । जीवन विज्ञानको दर्शन अनुसार शुद्ध भोजनले मानिसको चेतना विस्तारमा समेत मद्दत पुर्‍याउने विश्वास गरिन्छ    

रेस्टुरेन्टले व्यापारिक लाभभन्दा पनि सेवा र स्वास्थ्यलाई प्राथमिकता दिने नीति लिएको छ । यहाँ ताजा दूध, कफी, मोही र लस्सी जस्ता स्वास्थ्यवर्धक पेय पदार्थका साथै शुद्ध शाकाहारी खाना र खाजाको समेत व्यवस्था रहेको सञ्चालक रुपाखेतीले जानकारी दिनुभयो । अर्ग्यानिक र सात्विक भोजनको उपलब्धताले राजमार्गको यात्रालाई थप सहज र सुखद बनाउने अपेक्षा गरिएको छ    

राजमार्गको राजधानी प्रवेश  बिन्दु जुगेखोलामा सञ्चालनमा आएको यस रेस्टुरेन्टले स्थानीय उत्पादनको खपत बढाउनुका साथै रोजगारी सिर्जनामा पनि योगदान पुर्‍याउने देखिएको छ । शाकाहारलाई जीवनशैलीको रूपमा अपनाउन चाहनेहरूका लागि यो रेस्टुरेन्ट एक भरपर्दो गन्तव्य बन्ने विश्वास स्थानीयहरूको छ ।