के हो हान्ता भाइरस, र मानिसमा कसरी फैलिन्छ ?

174 पटक पढिएको

५ जेष्ठ २०८३, मंगलवार ०६:४६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ – हन्ता भाइरसको संक्रमण फैलिएपछि अन्तर्राष्ट्रिय स्वास्थ्य निगरानीमा परेको ‘एमभी होन्डियस’ नामक समुद्री क्रुज जहाजभित्रको अवस्था थप गम्भीर बनेको छ। समुद्री यात्रामा रहेका यात्रुहरूमा तीव्र गतिमा संक्रमण पुष्टि र शंकास्पद बिरामी थपिने क्रम बढेसँगै विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले यसलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाएका छन्। पछिल्लो विवरण अनुसार जहाजमा सवार २३ देशका १४६ जना यात्रु र चालक दलका सदस्यहरू अहिले क्यानरी द्वीपसमूहतर्फ अघि बढिरहेका छन्, जहाँ जहाज पुग्ने बित्तिकै सबैको बृहत् स्वास्थ्य परीक्षण र क्वारेन्टाइनको व्यवस्था मिलाइने तयारी गरिएको छ।

यसअघि नै संक्रमणका कारण एक डच महिलाको दुःखद मृत्यु भइसकेको छ भने अन्य संक्रमितहरूको अवस्था पनि चिन्ताजनक रहेको अस्पतालहरूले जनाएका छन्। दक्षिण अफ्रिकाको अस्पतालमा सघन उपचार कक्षमा भर्ना भएका बेलायती नागरिक र ज्युरिख अस्पतालमा उपचाररत स्विस नागरिकको स्वास्थ्य स्थिति सुधारोन्मुख भए पनि अझै खतरामुक्त नरहेको बुझिएको छ। यसैगरी नेदरल्यान्ड्स पुगेका दुई जना शंकास्पद बिरामी र घरमै आइसोलेसनमा बसेका दुई बेलायती यात्रुहरूको पनि कडा निगरानी भइरहेको छ। अमेरिकाले केप भर्डे टापुमा ओर्लिएर स्वदेश फर्किएका आफ्ना तीन नागरिकमाथि सुरु गरेको निगरानीलाई थप कडा बनाएको छ, जसले गर्दा यो संक्रमण जहाजको परिधिभन्दा बाहिर पनि फैलिन सक्ने त्रास बढाएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हन्ता भाइरस वास्तवमा कुनै एउटा मात्र निश्चित रोग नभएर २० भन्दा बढी प्रकारका भाइरसहरूको समूह हो। यो भाइरस मुख्यतया मुसा, लोखर्के तथा अन्य कुतरिने प्रकृतिका जनावरहरूको दिसा, पिसाब, र्‍याल र गुँडको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने गर्दछ। संक्रमित जनावरको मलमूत्र सुकेपछि हावामा उड्ने मसिना कणहरूका माध्यमबाट र कहिलेकाहीँ जनावरको टोकाइबाट समेत यो भाइरस मानव शरीरमा प्रवेश गर्दछ। साधारणतया यो भाइरस मानिसबाट मानिसमा सर्दैन, तर दक्षिण अमेरिकाको अर्जेन्टिना र चिलीमा पाइने ‘एन्डिज भाइरस’ नामक प्रजाति भने निकट सम्पर्कमा रहेका मानिसहरूबीच पनि सर्न सक्ने प्रमाणित भइसकेको छ। सन् २०१८ मा अर्जेन्टिनामा यसैगरी एकै व्यक्तिबाट ३४ जनामा संक्रमण सरेर ११ जनाको ज्यान गएको ऐतिहासिक तथ्यले पनि यसको गम्भीरतालाई पुष्टि गर्दछ।

यो भाइरसको संक्रमण भएपछि मानिसमा दुई प्रकारका अत्यन्तै घातक रोगहरू देखिन सक्छन्, जसमध्ये पहिलो ‘हान्ता भाइरस पल्मोनरी सिन्ड्रोम’ हो। यस रोगमा बिरामीलाई सुरुमा सामान्य ज्वरो आउने, अत्यधिक थकान महसुस हुने र मांसपेशी दुख्ने जस्ता लक्षण देखिन्छन् भने केही समयपछि नै फोक्सो र श्वासप्रक्षासमा गम्भीर समस्या आएर मानिसको मृत्यु हुने सम्भावना २० देखि ४० प्रतिशतसम्म रहन्छ। दोस्रो रोग ‘हेमोरेजिक फिभर विथ रेनल सिन्ड्रोम’ हो, जसले सिधै मानिसको मिर्गौलामा रैथाने असर पुर्‍याउनुका साथै भित्री अंगहरूमा रक्तस्राव गराउँछ।

हालसम्म विश्वभर यो भाइरस विरुद्ध लड्ने कुनै विशेष एन्टिभाइरल औषधि वा व्यापक रूपमा प्रयोग गर्न सकिने खोप उपलब्ध छैन। संक्रमण भइसकेपछि बिरामीलाई बचाउन केवल सहयोगी उपचार मात्र एक मात्र विकल्प रहने गर्दछ, जसमा बिरामीको अवस्था हेरी अक्सिजन थेरापी, व्हेन्टिलेटर सपोर्ट र मिर्गौला फेल हुन नदिन डायलाइसिस जस्ता सघन उपचार विधिको प्रयोग गरिन्छ। अमेरिकामा मात्र सन् १९९३ देखि २०२३ सम्मको अवधिमा ८९० जनामा यो संक्रमण पुष्टि भइसकेको पृष्ठभूमि छ भने सन् २०२५ को फेब्रुअरीमा ओस्कार विजेता अभिनेता जिन ह्याकम्यानकी पत्नी बेट्सी अराकावाको समेत यसै भाइरसका कारण ज्यान गएको घटनाले यसको जोखिमलाई पुन: ब्युँताएको छ। हाल क्रुज जहाजभित्र रहेका सबै यात्रुलाई आ-आफ्नो केबिनमा बन्द गरेर आइसोलेसनमा राखिएको छ र स्वास्थ्य विज्ञहरूले हातको सरसफाइ, निर्मलीकरण र कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउँदै संक्रमण नियन्त्रणको प्रयास गरिरहेका छन्।