एमाले बैठकमा अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न उपाध्यक्षहरूको सुझाव
155 पटक पढिएको
काठमाण्डौ, ९ जेठ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई कमजोर अवस्थामा पुर्याएको जिम्मावारी लिँदै ओलीले राजीनमा दिनुपर्ने औपचारिक रूपमै गम्भीर प्रश्न उठेको छ। शुक्रबार बसेको पार्टीको सचिवालय बैठकमा सहभागी पाँचमध्ये चार जना उपाध्यक्षले अध्यक्ष ओलीको कार्यशैली र नेतृत्वमाथि प्रश्न उठाउँदै नयाँ पुस्ताका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएपछि एमालेभित्र नेतृत्व परिवर्तनको बहसले औपचारिक रूपमा प्रवेश पाएको हो।
बैठकमा विशेष गरी उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्टले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भविष्यलाई मध्यनजर गर्दै अध्यक्ष ओलीलाई अभिभावकीय भूमिकामा रहेर नेतृत्व हस्तान्तरण गर्न आग्रह गर्नुभएको थियो। तर, अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भने पार्टी चौतर्फी संकटमा रहेका बेला नेतृत्वको रक्षा गर्नु सबैको दायित्व हुने भन्दै अध्यक्ष ओलीको बचाउ गर्नुभएको थियो।
उपाध्यक्षहरूबाट नेतृत्वको विकल्प खोज्नुपर्ने कुरा आएपछि अध्यक्ष ओलीले बैठकमा कडा असन्तुष्टि जनाउनुभएको बुझिएको छ। उहाँले पार्टी र नेतृत्वमाथि चारैतिरबाट राजनीतिक आक्रमण भइरहेको संवेदनशील समयमा आन्तरिक रूपमै नेतृत्वविरुद्ध गतिविधि गर्नेहरूलाई अनुशासनको कारबाही गर्ने चेतावनी दिनुभएपछि बैठकमा केही बेर असहज र तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
अध्यक्ष ओलीको उक्त चेतावनीको उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले तत्काल प्रतिवाद गर्नुभएको थियो। उहाँले पार्टी कसैको निजी संस्था नभएको स्पष्ट पार्दै एमाले निर्माणमा सबै नेता-कार्यकर्ताको उत्तिकै रगत-पसिना र योगदान रहेको स्मरण गराउनुभएको थियो। बैठकको अन्त्यमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उपमहासचिव लेखराज भट्टले शुक्रबारको बैठकमा पाँचै जना उपाध्यक्षहरूले पार्टीको आन्तरिक जीवन र नेतृत्वका विषयमा खुलस्त रूपमा आफ्ना धारणाहरू राखेको जानकारी दिनुभयो। यस विषयमा थप छलफल गर्न एमालेको बैठक शनिबार बिहान साढे ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ।







