लामिछानेसहितका प्रतिवादीमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज, सहकारी ठगीको अभियोग यथावत्
183 पटक पढिएको
काठमाण्डौ, ९ जेठ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सहकारी ठगी प्रकरणका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा खारेज गरिदिएको छ। जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीतर्फको मुख्य अभियोग दावीलाई भने कायमै राख्दै अन्य मुद्दाको अभियोग दावी आकर्षित नहुने गरी कानुनी रूपमा संशोधन गरिदिएको हो।
अदालतले जारी गरेको आदेशमा सहकारीको बचत डुबेका मूल जाहेरवालाहरूको माग र उद्देश्य प्रतिवादीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा चलाउने नरहेको स्पष्ट पारिएको छ। यो संशोधनपछि पनि जाहेरवालाहरूको मुख्य मागबमोजिमको सहकारी ठगीतर्फको अभियोग दावी र मुद्दाको प्रकृति यथावत् रहने र यसले बचतकर्ताको न्याय पाउने अधिकारमा कुनै असर नगर्ने अदालतको ठहर छ।
यसका साथै प्रतिवादीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध जस्ता गम्भीर र जटिल मुद्दा कायमै रहँदा भविष्यमा हुन सक्ने सम्भावित मिलापत्र तथा सर्वसाधारणको बिगो रकम सहज रूपमा फिर्ता पाउने कानुनी प्रक्रिया थप पेचिलो र जटिल बन्न जाने आदेशमा उल्लेख गरिएको छ। बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गराउने वातावरण सहज बनाउनका लागिसमेत यो कानुनी संशोधन आवश्यक देखिएको अदालतले प्रष्ट पारेको छ।







