आगामी ३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल,तापक्रम ४० डिग्री नाघ्ने चेतावनी
149 पटक पढिएको
काठमाण्डौ, ९ जेठ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा तातो हावा र तातो लहर (लु) चल्ने सम्भावना देखिएकाले आवश्यक सावधानी अपनाउन सार्वजनिक अपिल गरेको छ। विभागले शुक्रबार साँझ तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका भू-भागमा अत्यधिक गर्मी हुने प्रक्षेपण गरेको हो।
विभागको मौसमी विश्लेषणअनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भू-भागका केही स्थानमा अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने सम्भावना छ। मौसमविद् सञ्जिव अधिकारीका अनुसार सुदूरपश्चिमका केही स्थानमा जेठ ६ गतेदेखि नै तापक्रम ४० डिग्रीभन्दा माथि मापन भइसकेको छ। विशेषगरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लामा उच्च सतर्कता अपनाउन विभागले सुझाएको छ। यस्तै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्तुमा पनि मौसमको अवस्थालाई निरन्तर निगरानीमा राखिएको छ।
तातो लहरका कारण मानिसमा थकाइ लाग्ने, कमजोरी हुने, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। चर्को घाम र तातो हावाबाट बच्न बढी गर्मी हुने समयमा घरभित्रै रहन, शीतल स्थानमा बस्न र बाहिरी वातावरणमा धेरै ननिस्कन विभागले सल्लाह दिएको छ।
बढी गर्मीबाट बच्न हल्का सुतीका कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न वा टोपीको प्रयोग गर्न र नियमित रूपमा पानी तथा झोल पदार्थ (जुस, सर्वत) प्रशस्त मात्रामा पिउन चिकित्सकहरूले सुझाव दिएका छन्। विभागले स्वास्थ्यमा कुनै समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न र मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने मौसमी सूचनाबारे अद्यावधिक रहन समेत सबैमा अनुरोध गरेको छ।







