सिद्धलेक गाउँपालिका अध्यक्षमाथि शक्तिको दुरुपयोग गरेको आरोप: आफ्नै निर्वाचनका सहयोगीलाई झुठो मुद्दामा फसाएको खुलासा
591 पटक पढिएको
धादिङ, ९ जेठ । सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले प्रहरी प्रशासनको समेत मिलेमतोमा आफ्नै निर्वाचनका सहयोगीहरूलाई झुठो मुद्दा लगाई हिरासतमा राखेको गम्भीर रहस्य सार्वजनिक भएको छ। गाउँपालिकाको प्रशासनिक भवन निर्माणका क्रममा उत्पन्न जग्गा विवादलाई साम्य पार्नुको साटो अध्यक्षले राजनैतिक शक्तिको आडमा नक्कली घटना खडा गरी सर्वसाधारणलाई दुःख दिएको तथ्य बाहिर आएको हो।
घटनाको मुख्य जड सिद्धलेक गाउँपालिकाको प्रशासनिक भवन निर्माणसँग जोडिएको छ। भवन निर्माणका क्रममा स्थानीय कुल प्रसाद भट्टको स्वामित्वमा रहेको चार आना नम्बरी जग्गा अतिक्रमण भएपछि लामो समयदेखि मुआब्जाको विषयलाई लिएर पालिका र जग्गाधनी बीच विवाद रहँदै आएको थियो। भट्टले आफ्नो अतिक्रमित जग्गाको प्रचलित कानुन अनुसार मुआब्जा माग गर्दै आएका थिए भने अध्यक्ष खतिवडा मुआब्जा नदिने अडानमा रहँदै आएका थिए।
यसै विषयमा छलफल गर्न खोज्दा अध्यक्ष खतिवडाले बेवास्ता गरेपछि गत २०८२ फागुन १५ गते दुवै पक्षबीच दोहोरो भनाभन भएको थियो। सो क्रममा अध्यक्षले जग्गाधनीमाथि अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको भिडियो समेत सार्वजनिक भएको थियो। आफूले बोलेको विवादित भिडियोबाट सार्वजनिक रूपमा उत्पन्न आलोचनालाई ओझेलमा पार्न अध्यक्ष खतिवडाले षड्यन्त्रपूर्वक अरूको नामबाट प्रहरीमा उजुरी दिन लगाएर सिद्धलेक-४ का वासुदेव सिलवाल, केशव पुलामी मगर र जग्गाधनी कुल प्रसाद भट्टलाई पक्राउ गर्न प्रहरीलाई दबाब दिएको खुल्न आएको छ।
पीडित बासुदेव सिलवालका अनुसार उनीहरू तीनै जनालाई २०८३ जेठ ६ गते जिल्ला प्रहरी कार्यालय धादिङको चलानी नम्बर २९३८ को पत्रमार्फत ‘अभद्र व्यवहार’ को अनुसन्धानका लागि भन्दै थुनुवा पुर्जी जारी गरी पक्राउ गरिएको थियो। उजुरीकर्ता भनिएका सुजन घले नाम गरेको व्यक्तिसँग आफ्नो कुनै विवाद नभए पनि अध्यक्ष खतिवडाले राजनैतिक शक्तिको दुरुपयोग गरी नक्कली घटना खडा गरेको पीडित पक्षको दाबी छ। प्रहरीले उनीहरूलाई जेठ ८ गते साधारण तारेखमा रिहा गरे पनि विना कसुर हिरासतमा राखेर मानसिक र सामाजिक रूपमा चोट पुर्याएको भन्दै पीडितहरूले कानुनी उपचारमा जाने चेतावनी दिएका छन्।
पक्राउ परेका तीनै जना नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन्, जसले गत स्थानीय निर्वाचनमा खतिवडालाई अध्यक्षमा जिताउन मुख्य भूमिका निर्वाह गरेका थिए। नेपाली काँग्रेसबाट निर्वाचित खतिवडालाई तत्कालीन समयमा विभिन्न दलको साझा उम्मेदवार बनाइएको थियो। तर, सत्तामा पुगेपछि आफ्नै समर्थक र अधिकार माग्ने सर्वसाधारणलाई झुठो मुद्दामा फसाउने कार्यले गाउँपालिकामा विधिको शासनमाथि नै प्रश्न उठाएको छ।
अध्यक्ष खतिवडाले जनप्रतिनिधिको मर्यादा विपरीत सर्वसाधारण, कर्मचारी र पत्रकारहरूलाई समेत पटक-पटक धम्काउने र कानुनी उल्झनमा पार्ने गरेको देखिन्छ। यसअघि पनि आफ्नो पक्षमा समाचार नलेखेको भन्दै उनले नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, धादिङ न्यूजका केशव अधिकारी र वागमती कलमका अनिल नेपाली विरुद्ध प्रेस काउन्सिलमा काल्पनिक आरोप लगाई उजुरी दर्ता गराउनुका साथै केही मिडियामा समाचार लेख्न लगाई चरित्र हत्या गर्ने कोशिस गरेका थिए । त्यस्तै, हालै सार्वजनिक भएको अर्को एक भिडियोमा उनले कर्मचारीहरूलाई आफ्नो इच्छा विपरीत काम नगरे ‘गाला चड्काउने’ र ‘झोला बोकाएर घर पठाइदिने’ धम्की दिएपछि गाउँपालिकामा त्रासको वातावरण सिर्जना भएको छ।
व्यक्तिको निजी सम्पत्तिको रक्षा गर्नुपर्ने ठाउँमा उल्टै जग्गा अतिक्रमण गरी मुआब्जा माग्दा प्रहरी लगाएर थुन्ने कार्यले लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको भन्दै स्थानीय स्तरमा तीव्र विरोध सुरु भएको छ।
—







