देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, तराईमा तातो लहर र हावाहुरीको चेतावनी

141 पटक पढिएको

१० जेष्ठ २०८३, आईतवार ०६:५४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै देशको पूर्वी भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेको छ। यस मौसमी प्रणालीका कारण हाल देशभरको मौसममा साधारणतया बदली आएको छ। विशेष गरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया मौसम बादलले ढाकिने सम्भावना छ। मधेश प्रदेश लगायत अन्य बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली रहने भए पनि बाँकी तराईका क्षेत्रहरूमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ। यसैगरी कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना छ। मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा समेत मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली भेगमा हिमपातको आँकलन गरिएको छ। पश्चिम नेपालतर्फ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा अत्यधिक गर्मीका कारण तातो दिन र तराई क्षेत्रमा तातो लहर (लू) चल्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ। यसका साथै मधेश र कोशी प्रदेशको तराई क्षेत्रका केही स्थानहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।

आज रात्रिकालीन समयमा पनि कोशी प्रदेश लगायत देशका अन्य हिमाली भू-भागहरूमा साधारणतया बदलीकै अवस्था रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी पहाडी तथा तराईका भू-भागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ। रातिको समयमा कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमै रहने महाशाखाले बुलेटिनमार्फत जानकारी गराएको छ।