के-के भयो सन् २०१३ मा ?

667 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, पुस १६ – विक्रम संवतको नयाँ वर्षमा जस्तै ईस्वी संवतको नयाँ वर्षमा पनि शुभकामना आदानप्रदान गर्ने प्रचलन नेपालमा सुरु भैसकेको छ ।

खासगरी युवा पुस्ता नयाँ वर्षको स्वागत, शुभकामना र रमझममा झुम्ने गर्छन् । हरेक नयाँ वर्षको स्वागत गर्दा वितेको वर्षलाई पनि सम्झने गरिन्छ ।

सन् २०१४ लाई स्वागत गर्ने क्रममा २०१३ मा विश्वभर भएका मुख्य घटनालाई पनि धेरैले स्मरण गरेका छन् । नेपालकै कुरा गर्ने हो भने सन् २०१३ मा दोस्रो संविधानसभाको चुनाव भयो । चुनाव भएको डेढ महिना बितेर सन् २०१४ लागिसक्दा समेत संविधानसभाको वैठक बस्ने छाँट चाहिँ अझै देखिएको छैन ।

सन् २०१३ मा विश्वका धेरै ठाउँमा अविस्मरणीय घटना भएका छन् । यसैवर्ष सिरिया, बंगलादेश र थाईल्याण्डमा राजनीतिक संकट देखियो । इराक र अमेरिकाबीच सम्बन्ध सुधार भयो भने चीनमा त्यहाँका कम्युनिष्ट पार्टीका एक शक्तिशाली नेता बो सिलाई भ्रष्टाचारको आरोपमा जेल परेपछि आन्तरिक विवाद बल्झिएको छ ।

वर्षको अन्त्यमा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधनले संसारभरीकै मानिसलाई स्तब्ध बनायो । सन् २०१३ मा भएका मुख्य घटना यस प्रकार छन् :

जनवरी

  •     बाराक ओबामा दोस्रोपटक अमेरिकाको राष्ट्रपतिमा चयन । जनवरी २० देखि दोस्रो कार्यकाल सुरु ।
  •     ब्राजिलको एक नाइट क्लवमा आगलागी हुँदा २ सय ४५ जनाको मृत्यु ।

फेब्रअरी

  •     रसियाको मध्यभागमा उल्कापिण्ड खस्दा झण्डै एकहजार जना घाइते ।

मार्च

  •     भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको ५८ वर्षको उमेरमा निधन ।
  •     पोप फ्रान्सिस रोमन क्याथोलिक चर्चको पोपमा चयन । उहाँको खास नाम जर्ज मारियो बर्गोलियो हो ।
  •     चीनको युनान प्रान्तमा शक्तिशाली भूकम्प जाँदा ४३ जनाको मृत्यु । चीनकै दक्षिणी क्षेत्रमा आएको भीषण आँधीवेहरीमा थप १३ जनाको मृत्यु ।

अप्रिल

  •     बेलायतकी प्रथम महिला प्रधानमन्त्री मार्गरेट थ्याचरको ८८ वर्षको उमेरमा निधन ।
  •     चीनको सिचुआन प्रान्तमा विनासकारी भूकम्पमा परी एकसय ८१ जनाको मृत्यु ।
  •     इरान र अफगानिस्तानमा पनि भुकम्पका कारण दर्जनौंको मृत्यु ।
  •     अर्जेन्टिनामा बाढीका कारण ५४ जनाको मृत्यु । १४ लाख मानिस प्रभावित ।
  •     भारतको मुम्बईमा साततले भवन भत्किँदा ४४ जनाको मृत्यु ।
  •     अमेरिकाको टेक्सासमा एक रासायनिक मल कारखानामा भयानक विष्फोटमा १५ जनाको मृत्यु ।

मे

  •     एलसीडीका आविष्कारक जर्ज विलियम ग्रेको ८७ वर्षको उमेरमा निधन ।
  •     बंगालको खाडीमा न्यूनचापीय क्षेत्रबाट उत्पन्न भएको आँधीका कारण जनधनको ठूलो क्षती ।
  •     अमेरिकाको ओक्लाहोमा आएको टोर्नाडो हुरीका कारण ७ राज्यका ३ सय ५४ जनाको मृत्यु ।
  •     पाकिस्तानमा एउटा बसमा अकस्मात विष्फोट हुँदा बालबालिका र शिक्षकको मृत्यु ।

जुन

  •     भारतको उत्तराखण्डमा विनाशकारी बाढीपहिरोका कारण ५ हजार ६ सयभन्दा धेरैको मृत्यु । हजारौं तीर्थयात्रु अलपत्र ।
  •     चीनको जिलिन प्रान्तको एक कुखुरा फर्ममा आगलागी हुँदा १९ जनाको मृत्यु ।
  •     बलिउड नायिका जिया खानद्वारा आत्महत्या ।

जुलाई

  •     बलिउड चलचित्रका चर्चित अभिनेता प्राणको ९३ वर्षको उमेरमा निधन ।
  •     दक्षिण कोरियाको राजधानी सोलबाट अमेरिकाको सनफ्रान्सिस्को उडेको विमान अवतरणका क्रममा दुर्घटना हुँदा १२ जनाको मृत्यु ।
  •     स्पेनमा रेल दुर्घटना हुँदा ८० जनाको मृत्यु ।

अगष्ट

  •     पाकिस्तानी राष्ट्रपतिमा ममनुन हुसेन निर्वाचित ।
  •     भारतमा तेलङ्ना राज्य निर्माण विरुद्ध प्रदर्शन ।
  •     वर्षाका कारण पाकिस्तान र अफगानस्तानको जनजीवन कष्टकर ।
  •     आर्थक संकटका कारण संसारकै चर्चित पत्रिका वासिङटनपोष्ट २५ करोड डलरमा बिक्री ।
  •     बेलायमा एशियाली आप्रवासीमाथि विशेष निगरानी ।

सेप्टेम्बर

  •     एप्पलद्वारा आइफोन फाइभ एस र फाइभ सी गरी दुई नयाँ आइफोन बजारमा ।
  •     यौन् दुव्र्यवहारको आरोपमा भारतका धार्मिक गुरु आशाराम बापु गिरफ्तार ।
  •     चन्द्रमाको वातावरण अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण ।
  •     अपराध अनुसन्धानमा नेदरल्याण्डमा मुसाको प्रयोग ।
  •     साफ च्याम्पियनसीप फुटबलको उपाधी अफगानिस्तानलाई ।

अक्टोबर

  •     चर्चित भारतीय गायक मन्ना डेको ९४ वर्षको उमेरमा निधन ।
  •     भारतमा पायलिन आँधीका कारण उडिसा र आन्ध्रप्रदेशमा जनधनको ठूलो क्षती ।

नोभेम्बर

  •     संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनद्वारा नोभेम्वर १० लाई मलाला दिवसको रुपमा मनाउने घोषणा । मलाला पाकिस्तानकी १६ वर्षिया बालिका हुन् । उनलाई पाकिस्तानमा कट्टरपन्थीहरुले गोली प्रहार गरी घाइते बनाएका थिए ।
  •     अध्यात्मिक गुरु जगदगुरु कृपालुजी महाराजको ९१ वर्षको उमेरमा निधन ।
  •     तालिवानी कमान्डर हकिमुल्लाह मेहसुदको अमेरिकी ड्रोन आक्रमणमा परी निधन ।
  •     फिलिपिन्समा शक्तिहाली हेइयान आँधीका कारण १० हजारभन्दा धेरैको मृत्यु । ४० लाखभन्दा धेरै प्रभावित । आँधीले भियतनामा पनि जनधनको क्षती ।

    डिसेम्बर

  •     दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एवं रंगभेद विरुद्धको राजनीतिक एवं सामाजिक आन्दोलनका नेता नेल्सन मण्डेलाको ९५ वर्षको उमेरमा निधन ।
  •     वलिउडका चर्चित कलाकार फारुख शेखको निधन ।
  •     हलिउडकी चर्चित नायिका केट विलियम्सको ८३ वर्षको उमेरमा निधन ।
  •     वर्षमा बलिउड नायक अमिर खानले अभिनय गरेको एउटा मात्र चलचित्र धुम ३ द्वारा २०१३ का सबै सफल चलचित्रको कीर्तिमान भंग ।
  •     भारतको दिल्लीमा भएको विधानसभा निर्वाचनमा नयाँ आम आदमी पार्टी विजयी ।
  •     चीनमा एक सन्तान नीति खुकुलो । दुई सन्तान जन्माउन पाइने नयाँ व्यवस्था ।

सन् २०१३ मा विश्वका पत्रकार, खेलाडी एवं राजनीतिककर्मी यौनकाण्डमा मुछिए । भारतको चर्चित पत्रिका तहल्काका संस्थापक तथा उपन्यासकार तरुण तेजपाललाई आफ्नै सहकर्मी कर्मचारीको यौनशोषणको अभियोगमा मुद्दा पर्यो । भारतमै धर्मगुरु आशाराम बापु तथा उनका छोरा नारायण साइले धर्मको सहारामा यौनधन्दा गरेको पर्दाफास भयो । हाल उनीहरु कारागारमा छन् । भारतकै अर्का धर्मगुरु स्वामि नित्यानन्दले आफ्नै चेलीलाई यौनशोषण र बलात्कार गरेको आरोप लाग्यो ।

चर्चित फूटबल खेलाडीद्वय फ्रान्क रिबेरी र कारीम बेन्जेमालाई पनि यौनकाण्डको आरोप लाग्यो । ६६ वर्षको उमेरमा २८ वर्षिया युवतीसँग गोप्य रुपमा विवाह गर्ने इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बुर्लोस्कोनी पनि यसवर्ष चर्चामा रहे । अमेरिकी गुप्तचर संस्थाका एजेन्टहरुले १७ देशमा यौन दूराचार गरेको सार्वजनिक भयो ।

सन् २०१३ मा भारतीय क्रिकेटर सचिन तेन्दुलकर र म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सर एलेक्स फर्गुसनले खेल जीवनबाट सन्यास लिए । खेलकूदकै कुरा गर्दा टेनिसकी सेरेना विलियम्स सर्वाधिक कमाउने खेलाडी भइन् । यस वर्षको विम्बल्डनको टेनिसको उपाधि एन्डी मुर्रेले जिते ।

यस्तै फोर्ब्स पत्रिकाका अनुसार मेक्सिकोका कार्लोस सिलम हेलु, अमेरिकाका बिल गेट्स, स्पेनका अमान्सियो ओटेगा, अमेरिकाका वारेन बफेट, अमेरिकाकै लरेन्स एलिसन, अमेरिकाकै चाल्र्स कोच, अर्का अमेरिकी डेभिड कोच, हङकङका लि का सिङ, फ्रान्सका लिलियन बेटेनकोर्ट र फ्रान्सकै बेनार्ड अर्नल्ट सन् २०१३ मा विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । उनीहरु सबै अर्बपती हुन् ।

-उज्यालो अनलाईन