साढे चार दशकको राजनीतिक यात्रा पछि डोल बहादुर अधिकारीद्वारा सक्रिय राजनीतिबाट सन्यासको घोषणा

357 पटक पढिएको

१३ जेष्ठ २०८३, बुधबार १४:५७ सम्पादक: धादिङ न्यूज

धादिङ । विगत साढे चार दशकदेखि कम्युनिस्ट राजनीतिमा अनवरत रूपमा सक्रिय रहनुभएका उत्तरी धादिङका स्थापित एवं प्रभावशाली नेता डोल बहादुर अधिकारीले सक्रिय राजनीतिबाट पूर्ण सन्यासको घोषणा गर्नुभएको छ। वि.सं. २०३६ सालदेखि सुरु भएको आफ्नो लामो र संघर्षपूर्ण राजनीतिक यात्रालाई बिट मार्दै उहाँले आजैका मितिदेखि कुनै पनि कम्युनिस्ट पार्टीको साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र भएको घोषणा गर्नुभएको हो।

उहाँको राजनीतिक यात्रा वि.सं. २०३६ सालको शिक्षक आन्दोलनबाट सुरु भएको थियो, जसका क्रममा उहाँले एक हप्ता प्रहरी हिरासत समेत भोग्नुभएको थियो। पञ्चायत कालमै वि.सं. २०३८ सालमा तात्कालिक मार्पाक गाउँ विकास समिति वडा नं. २ को वडा अध्यक्षमा निर्वाचित भएर उहाँले जनस्तरको नेतृत्व सम्हाल्नुभएको थियो। २०४४ सालमा उपप्रधानपञ्चको उम्मेदवार बन्नुभएका अधिकारीले ‘मोटो’ र ‘पातलो’ मसालको धार हुँदै २०४९ सालमा जनमोर्चाबाट कम्युनिस्ट पार्टीको संगठित सदस्यता लिनुभएको थियो।

माओवादी जनयुद्धका सुरुवाती वर्षहरूमा उहाँ ‘मिलन’ उपनामले उत्तरी धादिङको कमान्डरको रूपमा सक्रिय र चर्चित हुनुहुन्थ्यो। पछि माओवादी त्यागेर नेकपा एमालेमा प्रवेश गर्नुभएका अधिकारी २०५४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट मार्पाक गाविस अध्यक्षको उम्मेदवार बन्नुभएको थियो। द्वन्द्वकालमा उहाँले ठुलो भौतिक आक्रमणको सामना समेत गर्नुभयो। २०५९ सालमा तात्कालिक माओवादीको भौतिक कारबाहीमा परी उहाँको दाहिने खुट्टा भाँचिएको थियो, यद्यपि उहाँले आफ्नो राजनीतिक दृढता र यात्रालाई कहिल्यै रोक्नुभएन।

नेकपा एमालेको ८ औँ महाधिवेशनमा उत्तरी धादिङबाट प्रतिनिधिका रूपमा सहभागी हुनुभएका अधिकारीले जिल्ला कमिटी सदस्य र सल्लाहकारको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गर्नुभएको थियो। एमाले विभाजन पछि नेकपा एकीकृत समाजवादीतर्फ लाग्नुभएका उहाँले सो पार्टीमा कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्नुभयो। उहाँले आफ्ना राजनीतिक गुरुहरू स्वर्गीय एन प्रसाद गौतम, पोस्ट बहादुर बोगटी र पशुपति चौलागाईंको प्रेरणाले आफू यो स्थानसम्म आइपुगेको उल्लेख गर्नुभएको छ। साथै उहाँले नेताहरू खेमप्रसाद लोहनी, गुरु बुर्लाकोटी, पुष्प विक्रम मल्ल, मोहन कार्की, विष्णुपुकार श्रेष्ठ, दाजु दिल बहादुर अधिकारी र भतिज शंकर अधिकारीसँगको लामो राजनीतिक सहकार्यलाई पनि स्मरण गर्नुभएको छ।

तात्कालिक एकीकृत समाजवादीको बागमती प्रदेश सदस्य र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को सदस्य रहनुभएका उहाँले आज २०८३ जेठ १३ गते सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै दलीय राजनीतिबाट आफूलाई पूर्ण रूपमा अलग राख्ने निर्णय सार्वजनिक गर्नुभएको हो। “अबको बाँकी जीवन कुनै पनि पार्टीको बन्धनमा नरही स्वतन्त्र रूपमा बिताउनेछु, कुनै पनि कम्युनिस्ट पार्टीको साधारण सदस्य समेत नरही अब स्वतन्त्र नागरिकका रूपमा सानातिना समाज सेवामा क्रियाशील रहने प्रण गर्दछु” भन्दै उहाँले आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

राजनीति बाहेक अधिकारी सामाजिक र मानवीय सेवाका क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। उहाँले २५ वर्षभन्दा लामो समय नेपाल रेडक्रस सोसाइटी मार्पाक उपशाखाको सभापतिको रूपमा सेवा गर्नुभएको छ भने जिल्ला शाखाको उप-सभापति जस्तो गरिमामय पद समेत सम्हाल्नुभएको थियो। यसै गरी उहाँले गाउँकै निरन्जना माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा रहेर शैक्षिक विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ।