रास्वपा सिद्धलेकको सभापतिमा गोविन्द अर्याल निर्वाचित: ‘सिंहदरबार भ्रमण’ काण्डले संस्थापक अध्यक्ष रकिम अन्सारी बढारिए

727 पटक पढिएको

१८ जेष्ठ २०८३, सोमबार २१:२९ सम्पादक: धादिङ न्यूज

धादिङ, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धलेक गाउँपालिकाको प्रथम अधिवेशनबाट गोविन्द अर्याल सभापतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न अधिवेशनको अन्तिम मतपरिणाम अनुसार प्रतिस्पर्धी एवं संस्थापक अध्यक्ष रकिम अन्सारीलाई पराजित गर्दै अर्याल आगामी कार्यकालका लागि सभापति चुनिएका हुन्।

पार्टी स्थापनाकालदेखि स्थानीय तहमा सङ्गठन निर्माणमा सक्रिय रहेका संस्थापक अध्यक्ष नै अधिवेशनमा बढारिएपछि अहिले रास्वपा सिद्धलेकमा यसलाई निकै चासो र चर्चाका साथ हेरिएको छ। रास्वपा सिद्धलेक भित्र यस पराजयलाई कार्यकर्ताले चुनावी प्रक्रियामार्फत गरेको ‘राजनीतिक कारबाही’ का रूपमा व्याख्या गर्न थालेका छन्।

अन्सारीको यो अप्रत्याशित पराजयको मुख्य कडी गत वैशाख १० गते सार्वजनिक भएको एउटा तस्बिर, भिडियो र विवादित ‘सिंहदरबार भ्रमण’ सँग जोडिएको छ।

गत २०८३ वैशाख १० गते तत्कालीन गाउँपालिका अध्यक्ष रकिम अन्सारीले सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा र वडा नं. ३ का प्रेम थापा मगरलाई साथमा लिएर सिंहदरबारस्थित विभिन्न मन्त्रालयहरूको भ्रमण गरेका थिए। सो क्रममा उनीहरूले अर्थ मन्त्रालयको सचिवालयमा पुगेर सिद्धलेक गाउँपालिकाको एकीकृत विकास योजनाको बारेमा जानकारी दिँदै छलफल समेत गरेका थिए। सोही ब्रिफिङ र बैठकका तस्बिर तथा भिडियोहरू अन्सारी आफैँले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

पार्टीको स्थानीय वा जिल्ला कमिटीसँग कुनै पनि तहमा समन्वय र पूर्वछलफल नै नगरी, अन्सारीले एकलौटी रूपमा विवादित पृष्ठभूमिका पालिका अध्यक्ष खतिवडालाई लिएर “रास्वपाको समन्वय र सहकार्य” भन्दै सिंहदरबारमा पहुँच देखाउन खोजेको भन्दै रास्वपाका स्थानीय तहका नेता तथा कार्यकर्ताहरूले सो कार्यलाई कत्ति पनि रुचाएका थिएनन्।

पदीय मर्यादा र पार्टीको नीतिको ख्यालै नगरी हिँडेको भन्दै कार्यकर्ताहरू माझ अन्सारीविरुद्ध तीव्र आक्रोश चुलिएको थियो र उनीमाथि कारबाहीको माग भइरहेको थियो। सोही ‘समन्वयविहीनता’ का कारण असन्तुष्ट बनेको रास्वपा संस्थापन पक्ष र आम कार्यकर्ताले अधिवेशनमार्फत अन्सारीलाई नेतृत्वबाटै विस्थापित गर्ने रणनीति लिए, जसको सीधा फाइदा नवनिर्वाचित सभापति अर्याललाई पुग्यो।

अधिवेशनबाट अध्यक्ष पदमा पराजय व्यहोरेपछि निवर्तमान सभापति अन्सारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो गम्भीर असन्तुष्टि सार्वजनिक गर्दै पार्टी नेतृत्व र निर्वाचन प्रक्रियामाथि आक्रोश पोखेका छन्। उनले आफूलाई मतदान गर्नेहरूलाई धन्यवाद दिँदै पार्टीभित्र विधिको शासन उल्लङ्घन भएको र केन्द्रबाट अनावश्यक हस्तक्षेप भएको आरोप लगाएका छन्।

अन्सारीले फेसबुकमा लेखेका छन्, “पार्टीको विधि र पद्धति प्रति प्रश्न चिन्ह उठेको छ। निर्वाचन समितिको विधान विपरीत काम हुने केन्द्रीय हस्तक्षेप र लादिने प्रवृत्ति हो भन्ने काम के का लागि? अवैधानिक समितिलाई वैधानिक बनाउनु के पार्टीको नीति हो?”

उनले जिल्लाको पार्टी डिजिटल पोर्टलको समेत दुरुपयोग गरी वडा अधिवेशनबाट विधिवत् रूपमा छानिएर आएका नामहरू काटेर मनपरी ढङ्गले प्रविष्टि गरिएको दाबी गरेका छन्। केन्द्रीय नेताहरूको भूमिकाप्रति सङ्केत गर्दै उनले थपेका छन्, “केन्द्रमा रहेर कार्य मूल्याङ्कन समीक्षा नगरी मिल्न नदिने भूमिका खेलेर मानसिक दबाब दिइयो। कुनै केन्द्रीय पदको हाविले गर्दा सिङ्गो पार्टीप्रति प्रश्न नउठोस्।”

पार्टीभित्र ‘नीतिको नभई नियतको समस्या’ दोहोरिएको उल्लेख गर्दै अन्सारीले सङ्घर्ष जारी रहने उद्घोष गरिरहँदा, नवनिर्वाचित सभापति गोविन्द अर्यालका सामु भने चुनौतीपूर्ण इनिङ सुरु भएको छ। अधिवेशनले सतहमा ल्याएको यो गम्भीर आन्तरिक गुटबन्दी, विवाद, घात-अन्तरघात र असन्तुष्टिलाई चिर्दै रास्वपाको स्थानीय सङ्गठनलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने नै अर्यालको मुख्य परीक्षा हुने देखिन्छ।

यस सिंगो विषय र कारबाहीको चर्चाबारे रास्वपा जिल्ला समिति र केन्द्रीय तहबाट भने अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।