प्रेस चौतारी धादिङ र काभ्रेबीच अनुभव साटासाट: व्यावसायिक पत्रकारिता र मिडियाको आर्थिक संकटमाथि विशेष विमर्श
313 पटक पढिएको
धादिङबेसी, ६ असार । प्रेस चौतारी नेपाल धादिङ र काभ्रेका पत्रकारहरूबीच धादिङबेसीमा अनुभव साटासाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अन्तर-जिल्ला मैत्रीपूर्ण भ्रमणको क्रममा धादिङ आइपुगेका प्रेस चौतारी काभ्रेको टोलीलाई प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको तर्फबाट धादिङबेसीमा स्वागत गरिएको थियो।
नेपाल पत्रकार महासंघ धादिङको सभाहलमा असार ६ गते शनिवार आयोजित विशेष कार्यक्रममा दुई जिल्लाका सञ्चारकर्मीहरूबीच समसामयिक पत्रकारिता, श्रमजीवीका समस्या र सांगठनिक सुदृढीकरणका विषयमा गहन छलफल भएको हो।
कार्यक्रममा धादिङ जिल्लाको प्रेस चौतारीको ऐतिहासिक पृष्ठभूमि र वर्तमान अवस्थाबारे जानकारी गराउँदै प्रेस चौतारी नेपालका केन्द्रीय पार्षद केशव अधिकारीले जिल्लाको समग्र पत्रकारिताको नालिबेली प्रस्तुत गर्नुभयो। उहाँले प्रेस चौतारी धादिङको विगतदेखि अहिलेसम्मको सांगठनिक अवस्था, पत्रकारहरूले कार्यक्षेत्रमा भोग्नुपरेका चुनौती र वर्तमान समयमा सञ्चार क्षेत्रले सामना गरिरहेको आर्थिक संकटबारे विशेष चर्चा गर्नुभयो।
केन्द्रीय पार्षद अधिकारीले देशमा छाएको आर्थिक मन्दीका कारण स्थानीय तथा राष्ट्रिय मिडिया हाउसहरूमा परेको गम्भीर असर, विज्ञापन बजारको संकुचन र यसले गर्दा श्रमजीवी पत्रकारहरूको पारिश्रमिक तथा रोजगारीमा उत्पन्न समस्याबारे प्रकाश पार्नुभयो। साना लगानीका सञ्चार माध्यमहरू बन्द हुने अवस्थामा पुगेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले राज्य र सम्बन्धित निकायले सञ्चार क्षेत्रको जग जोगाउन विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष एवं प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य सीताराम अधिकारीले धादिङका पत्रकारहरूको अवस्था, पेसागत सुरक्षा र क्षमता विकासका लागि महासंघले खेलिरहेको भूमिकाबारे अवगत गराउनुभयो। बदलिँदो सामाजिक-राजनीतिक परिवेशमा व्यावसायिक मर्यादा कायम राख्नुपर्नेमा जोड दिँदै अध्यक्ष अधिकारीले भन्नुभयो:
“यस्ता अन्तर-जिल्ला भ्रमण र संवादले संगठनलाई चलायमान बनाउने मात्र नभई पत्रकारहरूका समसामयिक पेसागत समस्या समाधानका लागि ठोस मार्गचित्र कोर्न मद्दत पुर्याउँछ।”
उहाँले पत्रकारितामा भित्रिँदै गरेको नयाँ प्रविधि र नयाँ पुस्ताको भावनालाई समेटेर अघि बढ्नुपर्ने औंल्याउँदै श्रमजीवी पत्रकारका समस्या समाधानका लागि जिल्लागत रूपमा मात्र नभई केन्द्र स्तरमै साझा एजेन्डा बनाएर दबाब दिनुपर्ने बताउनुभयो।
प्रेस चौतारी काभ्रेका अध्यक्ष केदार तिमल्सिनाले काभ्रे शाखाले गरिरहेका सिर्जनात्मक गतिविधिहरू, सञ्चारकर्मीहरूको हकहितका लागि चालिएका कदम र आगामी दिनका लागि तय गरिएका सकारात्मक योजनाहरूबारे जानकारी गराउनुभयो। उहाँले दुई छिमेकी जिल्लाहरूबीचको यस्तो मैत्रीपूर्ण सम्बन्धले पत्रकारहरूको आत्मबल बढाउने र अनुभवको आदानप्रदानले कार्यक्षेत्रमा थप निखारता ल्याउने विश्वास व्यक्त गर्नुभयो।
देशमा विकसित पछिल्लो राजनीतिक चेतना र सामाजिक रूपान्तरणका लागि सञ्चार जगत्को भूमिकालाई अझ बढी जिम्मेवार बनाउन प्रेस चौतारी नेपाल, काभ्रेपलाञ्चोकले यो विशेष जिल्ला भ्रमण अभियान सुरु गरेको हो।
कार्यक्रमको अवसरमा दुवै जिल्लाका संगठनका प्रतिनिधिहरूले एक-अर्कालाई मायाको चिनो आदान-प्रदान गर्दै भ्रातृत्व र पेसागत ऐक्यबद्धताको सम्बन्धलाई अझ प्रगाढ बनाउने संकल्प गरे। ‘जेनजी’ आन्दोलन र युवा जागरणपछि मुलुक सकारात्मक रूपान्तरण र नयाँ राजनीतिक चेतनाको दिशामा अघि बढिरहेका बेला, राज्यको चौथो अंगका रूपमा रहेका पत्रकारहरूबीच नेपाल पत्रकार महासंघ धादिङको हलमा भएको यस्तो जीवन्त संवादले समग्र पत्रकारिता क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थपेको सहभागी सञ्चारकर्मीहरूले बताएका छन्।







