मनसुनको जोखिम: देशभर ५१ हजार घरधुरी र २ लाख २६ हजार जनसंख्या प्रभावित हुने अनुमान
135 पटक पढिएको
काठमाडौं | राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने प्रक्षेपण गरेको छ। प्राधिकरणको पछिल्लो विवरणअनुसार मनसुनजन्य विपद्का कारण करिब २ लाख २६ हजार नागरिक प्रत्यक्ष रूपमा जोखिममा पर्न सक्ने देखिएको छ।
प्राधिकरणकी सूचना अधिकारी शान्ति महतले दिएको जानकारीअनुसार यस वर्षको मनसुन कोशी प्रदेशबाट नेपाल प्रवेश गरिसकेको छ। मनसुन हाल कमजोर अवस्थामा रहे पनि आगामी केही दिनभित्रै देशभर पूर्ण रूपमा सक्रिय हुने अनुमान गरिएको छ। विशेष गरी लुम्बिनी, कोशी र मधेस प्रदेश मनसुनबाट बढी प्रभावित हुने सम्भावना छ भने कर्णाली प्रदेश भने तुलनात्मक रूपमा कम जोखिममा रहेको छ।
विपद्बाट हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै सरकारले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ लाई कार्यान्वयनमा ल्याइसकेको छ। प्राधिकरणले सम्भावित विपद्को सामना गर्न खोज, उद्धार तथा राहत सामग्रीहरूको भण्डारणलाई तीव्रता दिएको छ। यसका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तालिमप्राप्त जनशक्ति तथा गोताखोरहरूलाई कुनै पनि आपत्कालीन अवस्थाका लागि उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको छ।
विपद्को समयमा नागरिकहरूलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले सञ्चालनमा रहेको हेल्पलाइन नम्बर ११४९ को सेवालाई थप विस्तार गरिएको छ। यसअघि केन्द्रीय स्तरमा मात्र सीमित रहेको उक्त सेवा अब ७७ वटै जिल्ला प्रशासन कार्यालयअन्तर्गतका जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत पनि सञ्चालन हुने व्यवस्था मिलाइएको छ। प्राधिकरणले जोखिमपूर्ण क्षेत्रका नागरिकहरूलाई पूर्वतयारीका साथ सतर्क रहन र विपद्को समयमा सूचनाका लागि आधिकारिक संयन्त्रसँग सम्पर्कमा रहन आग्रह गरेको छ।







