कोशी र मधेसमा भारी वर्षा र हावाहुरीको सम्भावना, दुई-तीन दिनभित्रै देशभर मनसुन फैलिने

116 पटक पढिएको

१५ असार २०८३, सोमबार ०७:११ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । मुलुकका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव तीव्र बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू-भागका साथै गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको पूर्ण प्रभाव रहेको छ। देशका बाँकी क्षेत्रमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम छ। आगामी दुईदेखि तीन दिनभित्र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत मनसुन पूर्ण रूपमा विस्तार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल देशभर साधारणतया बदली रही कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदलीको अवस्था छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अहिले हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान मौसम विभागको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। यसैगरी देशका तराई भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको र कोशीकै तराई तथा मधेस प्रदेशका केही स्थानमा तीव्र हावाहुरी चल्न सक्ने महाशाखाको पूर्वानुमान छ।

आज राति पनि देशभर साधारणतया बदलीकै अवस्था रहने देखिन्छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थान, लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थान र हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थान तथा हिमाली भू-भागका एक-दुई स्थानमा पनि वर्षा र हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने अनुमान गरिएको छ। कोशी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्नेछ। राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले मौसम महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।