नीलकण्ठ नगरपालिकामा ‘जेष्ठ नागरिक नगर समन्वय समिति’ गठन

136 पटक पढिएको

१९ असार २०८३, शुक्रबार २२:३३ सम्पादक: धादिङ न्यूज

धादिङ । नीलकण्ठ नगरपालिकामा पहिलोपटक ‘जेष्ठ नागरिक नगर समन्वय समिति’ गठन गरिएको छ । नगरपालिकाले आयोजना गरेको जेष्ठ नागरिक नगर भेलाले कृष्णबहादुर अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नगर समन्वय समिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा भरतप्रसाद अधिकारी, सचिवमा भवनाथ अधिकारी र कोषाध्यक्षमा तारादेवी अर्याल चयन भएका छन् ।

यस्तै समितिको सदस्यहरूमा कुलप्रसाद ढकाल, लोकबहादुर सार्की, केदार कोइराला, ठकुमारी कोइराला, फत्तप्रसाद धमला, चित्रकुमारी भण्डारी, लालबहादुर गुरुङ, बोधराज सुवेदी, चन्द्रकुमारी नेपाल, भवनाथ अधिकारी र उजेली गुरुङ रहेका छन् ।

जेष्ठ नागरिक नगर भेलाको औपचारिक उद्घाटन नीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) भीमप्रसाद ढुंगानाले गरेका हुन् । उद्घाटन मन्तव्य व्यक्त गर्दै नगरप्रमुख ढुंगानाले जेष्ठ नागरिकको सम्मान र संरक्षणका लागि नगरपालिकाले विशेष कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

“नगरपालिकाले अहिले जेष्ठ नागरिकको सहजताका लागि घरघरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र औषधि उपचारको व्यवस्था मिलाउँदै आएको छ,” नगरप्रमुख ढुंगानाले भने, “आगामी दिनमा जेष्ठ नागरिकका माग र आवश्यकताका आधारमा थप नयाँ तथा प्रभावकारी कार्यक्रमहरू अघि बढाइनेछ ।”

नगरपालिकाको नीति र कार्यविधि अनुसार नै पहिलोपटक यो समन्वय समिति गठन गरिएको हो । अबका दिनमा जेष्ठ नागरिकका क्षेत्रमा विनियोजन हुने बजेट र कार्यक्रमहरू यसै समितिको संस्थागत निर्णय र मागका आधारमा तय गरिने नगरपालिकाको सामाजिक विकास शाखाकी उर्मिला थपलियाले जानकारी दिइन् ।

नगर भेला सुरु हुनुअघि नगरपालिकाको स्वास्थ्य शाखाले भेलामा सहभागी हुन आएका जेष्ठ नागरिकहरूका लागि विशेष स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा ६५ जना जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले बताए ।

शिविरमा विशेषगरी सुगर (मधुमेह), प्रेसर (उच्च रक्तचाप) लगायतका स्वास्थ्य समस्याको जाँच गरिएको थियो । त्यस क्रममा स्वास्थ्यमा गम्भीर समस्या देखिएका जेष्ठ नागरिकहरूलाई थप उपचार र फलोअपका लागि धादिङ अस्पतालमा प्रेषण (रेफर) समेत गरिएको रिजालले जानकारी दिए ।