लायन्स क्लब अफ धादिङ नीलकण्ठमा नयाँ नेतृत्वले सम्हाले पदभार

267 पटक पढिएको

२० असार २०८३, शनिबार ०६:४९ सम्पादक: धादिङ न्यूज

धादिङ, २० असार ।

लायन्स क्लब अफ धादिङ नीलकण्ठ (डिस्ट्रिक्ट ३२५ के) मा नयाँ नेतृत्व सँगै सामाजिक सेवाको नयाँ वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।  लायन वर्ष २०२६/२०२७ का लागि नवनिर्वाचित अध्यक्ष पोषनाथ अधिकारीले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्दै क्लबलाई नयाँ उचाइमा पुर्‍याउने संकल्प गर्नुभएको छ। क्लबद्वारा आयोजित एक विशेष  समारोहका बीच निवर्तमान अध्यक्ष नारायणकुमार श्रेष्ठ (वर्ष २०२५/२०२६) ले नवगठित कार्यसमितिका अध्यक्ष अधिकारीलाई नेतृत्वको जिम्मेवारी हस्तान्तरण गर्नुभयो। नयाँ कार्यसमितिको सारथिका रूपमा प्रथम उपाध्यक्ष ईश्वर धरेल, सचिव दीपक सिटौला र कोषाध्यक्ष शरणकुमार श्रेष्ठले पनि आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ।

उक्त गरिमामय पदभार ग्रहण कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरू—डिस्ट्रिक्ट एजिक्युटिभ चिफ गोविन्दकुमार श्रेष्ठ, डिस्ट्रिक्ट गभर्नर दीपक कोइराला, डिस्ट्रिक्ट सिनियर ए.ओ.जी. ईश्वरीप्रसाद पाण्डे र डिपार्टमेन्ट चिफ ईश्वरकुमार श्रेष्ठले नयाँ कार्यसमितिको उज्यालो कार्यकालको कामना गर्नुभयो। उहाँहरूले नयाँ कार्यसमितिलाई बधाई दिँदै आगामी दिनमा सहकार्य र हातेमालो गर्न आफ्नो पूर्ण प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यभार सम्हाल्दै नवनिर्वाचित अध्यक्ष अधिकारीले डिस्ट्रिक्टको वृहत्तर योजनालाई मजबुत बनाउन गभर्नरको मार्गनिर्देशन अनुरूप यसै असार महिनाभित्रै अनाथालय वा मानवसेवा आश्रममा विशेष सहयोग हस्तान्तरण गरी आफ्नो पहिलो मानवीय कार्यको सुरुवात गर्ने घोषणा गर्नुभयो। फजुल खर्चलाई कटौती गर्दै वास्तविक सेवामा लगानी गर्ने पवित्र उद्देश्यका साथ उहाँले आफ्नो कार्यकालको महत्त्वाकांक्षी र महिनागत कार्यतालिका समेत प्रस्तुत गर्नुभएको छ। उक्त योजनामा वातावरण संरक्षण, विद्यार्थी सचेतना, क्षमता अभिवृद्धि, पारिवारिक मिलन, स्वास्थ्य सेवा, खुत्रुके अभियान, रक्तदान तथा खाद्यान्न बैंक मार्फत असहायहरूलाई सहयोग गर्ने जस्ता प्रत्यक्ष मानव सेवामा केन्द्रित कार्यक्रमहरू समावेश गरिएका छन्। यो यात्रा आगामी असारमा वर्षभरीका कार्यहरूको समीक्षा गर्दै, उत्कृष्ट सहकार्य गर्ने सदस्य र संघसंस्थाहरूलाई सम्मान गरेर भव्य रूपमा समापन हुनेछ।

अध्यक्ष अधिकारीले यी योजनाहरू आवश्यकताका आधारमा थप परिमार्जन र परिष्कृत गर्दै लैजान सकिने स्पष्ट पार्नुभयो। उहाँले आफ्नो कार्यकाललाई परिणाममुखी बनाउन सम्पूर्ण क्लब सदस्यहरूबाट उचित परामर्श, रचनात्मक सल्लाह र निरन्तर सहयोगको अपेक्षा राख्नुभएको छ। साथै, आफूलाई विश्वास गरेर यो गरिमामय नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा उहाँले सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार र धन्यवाद समेत ज्ञापन गर्नुभयो।