गल्छीमा शृङ्खलाबद्ध चोरीले सर्वसाधारण आतङ्कित, सुरक्षा व्यवस्थापनमा प्रहरीलाई समेत हैरानी

252 पटक पढिएको

२४ असार २०८३, बुधबार ०७:२५ सम्पादक: धादिङ न्यूज

धादिङ । पृथ्वीराजमार्ग आसपास रहेको धादिङको गल्छी गाउँपालिकामा केही समय यता शृङ्खलाबद्ध रूपमा चोरीका घटनाहरू  बढ्दै गएका छन्। मुख्य बजार क्षेत्र, स्थानीय धार्मिक मठमन्दिर देखि  गाउँ-गाउँसम्म दिनहुँजसो भइरहेका चोरीका घटनाले गर्दा यतिबेला स्थानीय सर्वसाधारणहरू चरम भय र आतङ्कको वातावरणमा बस्न बाध्य भएका छन्।

पछिल्लो समय चोरहरूले आफ्नो शैली बदल्दै रातको समयमा मात्र नभई दिउँसै समेत सक्रियता बढाएपछि गल्छी क्षेत्रको सुरक्षा व्यवस्थामाथि नै ठूलो प्रश्नचिह्न खडा भएको छ। गल्छी गाउँपालिकाका वडा नम्बर ४, ६, ७ र ८ का विभिन्न टोलहरूमा लगातार चोरीका घटना भइरहेका छन्। चोरहरूले कहिले दिउँसै घरमा कोही नभएको मौका छोपेर चोरी गर्ने त  कहिले रातको समयमा सार्वजनिक सम्पत्ति र आस्थाका केन्द्र मानिने मन्दिरहरूलाई निशाना बनाउने गरेका छन्।

चोरीको यो शृङ्खलाले सर्वसाधारणलाई मात्र होइन, स्थानीय शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरी प्रशासनलाई समेत निकै हैरानी खेप्न बाध्य पारेको छ। गाउँमा अपरिचित व्यक्तिहरू जग्गा जमिन र पशुचौपाया किन्ने बहाना बनाएर दिउँसो निगरानी गर्न आउने र मौका मिल्नासाथ चोरी गरेर फरार हुने प्रवृत्तिका कारण प्रहरीलाई अपराधी पहिचान गर्न र पक्राउ गर्न थप चुनौती थपिएको छ। चोरीका घटनाहरू एकैसाथ विभिन्न स्थानमा दोहोरिइरहँदा प्रहरीलाई सीमित जनशक्ति र स्रोत साधनका बीच सुरक्षा गस्ती बढाउन र अनुसन्धान प्रक्रिया अगाडि बढाउन हम्मेहम्मे परिरहेको छ।

गत राति मात्रै गल्छी बजार नजिकैको छाँगेश्वर मन्दिरमा चोरी गर्न लागेको अवस्थामा स्थानीय बासिन्दा र प्रहरीको संयुक्त सक्रियतामा ५ जना चोर रङ्गेहात पक्राउ परेका छन् ।  यसअघि पनि उक्त मन्दिरमा चोरी भइसकेको अवस्थामा यो गिरफ्तारीले प्रहरीलाई केही राहत त दिएको छ, तर दिउँसो मोटरसाइकलमा आएर घरहरू लुट्ने र फरार हुने गिरोह अझै पनि सक्रिय रहेकाले गल्छी क्षेत्रमा पूर्ण रूपमा त्रास हट्न सकेको छैन।

यस शृङ्खलाबद्ध चोरीको रहस्य खोल्न, गिरोहको मुख्य नाइकेसम्म पुग्न र गल्छीवासीलाई सुरक्षित वातावरणको अनुभूति दिलाउन  प्रहरीले पक्राउ परेका पाँचै जनामाथि कडा अनुसन्धान सुरु गरेको जनाएको छ।   गाउँमा आउने कुनै पनि शंकास्पद वा अपरिचित व्यक्तिको गतिविधिबारे तुरुन्तै नजिकको प्रहरी चौकीमा खबर गर्न प्रहरीले सम्पूर्ण सर्वसाधारणमा अपिल समेत गरिएको छ।

यसै क्रममा गल्छी गाउँपालिका–६ बराडाँडामा दिनदहाडै एक घरमा योजनाबद्ध रूपमा लुटपाट भएको छ। स्थानीय तिलकबहादुर भण्डारीको घरमा मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले झुक्याएर नगद चोरी गरेका हुन्।

स्थानीय प्रकाश भण्डारीले दिएको जानकारी अनुसार मोटरसाइकलमा आएका ती व्यक्तिहरूले भण्डारी दम्पतीलाई आफूहरू जग्गा किन्नका लागि खोज्दै हिँडेको बहाना बनाएका थिए। उनीहरूले घरमा रहेकी सीता  भण्डारीलाई “हामी जग्गा किन्न आएका हौँ, तपाईंको जग्गा देखाइदिनुहोस्, मन परे किन्छौं र फोटो पनि खिच्छौं” भन्दै झुक्याएर घरबाट बाहिर बारीतर्फ लगेका थिए। एक जनाले घरधनी देवकुमारीलाई बारीतर्फ अलमल्याइरहेको मौका छोपी सँगै आएको अर्को व्यक्तिले घरभित्र प्रवेश गरेर लुटपाट मच्चाएको थियो। चोरले घरभित्रका ढोका तथा दराज फुटाएर नगद १५ हजार रुपैयाँ चोरी गरेको बताइएको छ। चोरहरूले गरगहना समेत खोजतलास गरेको र फेला नपरेपछि नगद मात्र लिएर फरार भएको पीडित परिवारले जनाएको छ। चोरी गर्ने क्रममा घरभित्रका अन्य सामानहरूमा समेत क्षति पुर्‍याइएको छ।