रुबीभ्यालीको इसिम खोलामा आएको बाढीले बगाएर दुई जना वेपत्ता

312 पटक पढिएको

२७ असार २०८३, शनिबार ०७:२८ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको रुबी भ्याली गाउँपालिकामा आएको  आकस्मिक बाढीका कारण दुई जना श्रमिक बेपत्ता भएका छन्। गाउँपालिकाको वडा नं. ४, ५ र ६ को बीच क्षेत्रमा पर्ने इसिम खोलामा असार २५ गते आएको बाढीले उनीहरूलाई बगाएको हो।

स्थानीय सुमन घलेका अनुसार अविरल वर्षाका कारण खोलामा पानीको बहाव ह्वात्तै बढेको थियो। सोही क्रममा उक्त क्षेत्रमा निर्माणाधीन २५.४ मेगावाटको सुपर आँखुखोला जलविद्युत् आयोजना (गोरक्षा हाइड्रोपावर) नजिकैबाट खोला तर्न खोज्दा ती दुई श्रमिकलाई बाढीले बगाएको हो।

बाढीमा परेर  बेपत्ता हुनेमा डडेल्धुरा जिल्ला अजयमेरु गाउँ पालिका वडा नम्बर ३ का ४१ वर्षीय रमेशबहादुर पाण्डे र राैतहट जिल्ला समनपुर गाउँ पालिका वडा नम्बर ५ का ३२ वर्षीय नवीन हुसेन मनसुरी रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दहालले जानकारी दिनुभयाे ।

धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य बोधनारायण श्रेष्ठले असार २६ गते प्रतिनिधि सभाको विशेष समयमा बोल्दै यस घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ। उहाँले बाढी र पहिरोमा दुई मजदुर बेपत्ता भएको उल्लेख गर्दै उनीहरूको खोजीमा तत्काल तदारुकता देखाउन र उद्धार टोली परिचालन गर्न माग गर्नुभएको छ। यता रुबी भ्याली गाउँपालिकाले पनि असार २६ गते नै आधिकारिक सूचना जारी गर्दै घटनाको थप विवरण संकलन गर्ने तथा खोजी कार्यलाई तीव्रता दिने जनाएको छ।

यसैबीच, रुबी भ्यालीका स्थानीयबासीले वडा नं. ५ र ६ जोड्ने मुख्य पैदल मार्गमा गएको पहिरोका कारण सास्ती भोग्नुपरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। बाटोको दुरवस्थाका कारण पैदल यात्रीहरूले आवतजावत गर्दा अकालमै ज्यान गुमाउनुपर्ने जोखिम बढेको स्थानीयको भनाइ छ। स्थानीय स्रोतका अनुसार यस क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन हाइड्रोपावरका गतिविधिहरूले गर्दा नै पहिरोको जोखिम बढेको हुनसक्ने आशंका गरिएको छ।

 स्थानीयवासीले पहिरो गएको स्थानमा तुरुन्तै मर्मत गरी पैदल यात्रीहरूका लागि सुरक्षित बाटो निर्माण गर्न माग गरेका छन्। यदि हाइड्रोपावरको निर्माण कार्यले गर्दा पहिरो गएको हो भने त्यसको सम्पूर्ण जिम्मेवारी व्यवस्थापन पक्षले लिनुपर्ने र तत्काल बाटो सुचारु गराउनका लागि आवश्यक प्राविधिक उपायहरू अपनाउन हाइड्रोपावरलाई कडा निर्देशन जारी गर्नुपर्ने उनीहरूको भनाइ छ। साथै, गाउँपालिका र सम्बन्धित वडा कार्यालयहरूले  अनुगमन गरी जनताको आवागमनको अधिकार सुनिश्चित गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन्।

घटना लगत्तै स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सरोकारवाला निकायले बेपत्ता श्रमिकहरूको खोजी कार्य तीव्र पारेका छन्। तर, यो समाचार तयार पार्दासम्म उनीहरूको अवस्था अझै अज्ञात रहेको छ।

हाल नेपालमा मनसुन सक्रिय भई रुबी भ्याली क्षेत्रमा विगत केही दिनदेखि निरन्तर वर्षा भइरहेकाले बाढी, पहिरो र सडक अवरोधको जोखिम उच्च रहेको छ। जोखिमलाई मध्यनजर गर्दै रुबी भ्याली गाउँपालिकाले सम्पूर्ण स्थानीय बासिन्दा, कर्मचारी तथा आगन्तुक पर्यटकहरूलाई अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न अपिल गरेको छ। गाउँपालिकाले नदी–खोला तर्ने वा किनारमा बस्ने कार्य नगर्न र यात्रामा निस्कनुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। साथै, कुनै पनि विपद्जन्य घटना वा आकस्मिक अवस्था देखिएमा तत्काल वडा कार्यालय, गाउँपालिका वा सुरक्षा निकायमा सम्पर्क गर्न र अफवाहको पछि नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरिएको छ।