प्रदेशमा सहकार्य गर्न एमाले र नेकपा सहमत, सातै प्रदेशमा सरकार गठनका लागि छलफल तीव्र

143 पटक पढिएको

६ श्रावण २०८३, बुधबार ०६:४८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठनका लागि सहकार्य गर्ने विषयमा सहमति भएको छ। नेपाली काँग्रेसले प्रमुख तीन दल मिलेर प्रदेश सरकार गठन गर्न नहुने अडान लिएपछि एमाले र नेकपाबीच राजनीतिक संवाद तीव्र बनेको हो।

यसैक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रदेश सरकार गठन, सत्ता सहकार्य तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ। दुवै नेताबीच भएको भेटवार्तापछि प्रदेशस्तरमा सहकार्यलाई औपचारिक रूपमा अघि बढाउने समझदारी बनेको नेताहरूले बताएका छन्।

नेकपा सचिव महेश बस्नेतका अनुसार अध्यक्ष ओली र संयोजक प्रचण्डबीचको छलफल सकारात्मक रहेको र त्यसपछि प्रचण्डले एमालेसँग प्रदेश सरकार निर्माणका लागि सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका हुन्। बस्नेतले यो सहकार्य प्रदेश सरकार गठनमा मात्र सीमित नरहने उल्लेख गर्दै मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिष्ट शक्तिहरूबीच आपसी सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

उनका अनुसार बदलिँदो राजनीतिक परिस्थितिमा वाम शक्तिहरूबीचको सहकार्य आवश्यक रहेको र त्यसले मुलुकमा स्थिर सरकार निर्माण, विकास निर्माणका कामलाई गति दिने तथा जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। उनले प्रदेश सरकार गठनसँगै साझा एजेन्डामा सहकार्य गर्दै दीर्घकालीन राजनीतिक समझदारीको वातावरण तयार गर्न पनि दुवै पक्ष इच्छुक रहेको बताए।

नेताहरूका अनुसार अब सातै प्रदेशमा सरकार गठनका लागि अपनाइने सहकार्यको मोडलबारे विस्तृत छलफल गरिनेछ। प्रदेशगत राजनीतिक अवस्था, दलहरूको संख्या तथा शक्ति सन्तुलनका आधारमा आवश्यक निर्णय लिइने जनाइएको छ। यस विषयमा दुवै दलका शीर्ष नेताहरूबीच थप छलफल जारी रहने र छिट्टै औपचारिक निर्णय सार्वजनिक गरिने तयारी रहेको स्रोतले जनाएको छ।

प्रदेश सरकार गठनको विषयले नयाँ राजनीतिक समीकरणको संकेत गरिरहेको बेला एमाले र नेकपाबीचको सहकार्यले आगामी दिनमा राष्ट्रिय राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने विश्लेषण गरिएको छ।