गल्छी–६ महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र सञ्चालनमा, दैनिक योग तथा साधना हुने

221 पटक पढिएको

२३ श्रावण २०८३, शनिबार १२:२१ सम्पादक: धादिङ न्यूज

धादिङ । गल्छी गाउँपालिका–६, महेशदोभानमा ‘स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनका लागि योग अपनाऔँ’ भन्ने मूल सन्देशसहित अम्लेश्वर योग साधना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ।

नवनिर्मित साधना केन्द्रको उद्घाटन शनिबार एक कार्यक्रमबीच गरिएको हो। गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दिपक कुमार कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा अम्लेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष भिमसेन पाण्डे, ज्येष्ठ नागरिक समिति गल्छीका अध्यक्ष शम्भु खतिवडा, गुरुकुलका विव्यस अध्यक्ष, विभिन्न महिला समूहका प्रतिनिधि, योग समिति बागमती प्रदेशका संगठन मन्त्री शंकर प्रसाद थपलिया, धादिङ जिल्ला योग खेलकुद संघका उपाध्यक्ष सन्दिप प्रसाद घिमिरे, पतञ्जलि योग समिति धादिङका प्रभारी बद्री सुवेदी, महिला प्रभारी राममाया बुढाथोकी लगायत विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिति थियो।

उद्घाटन कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा सञ्चालित योग साधना केन्द्रबाट आएका साधक–साधिका तथा स्थानीयवासीको समेत सहभागिता रहेको थियो। कार्यक्रममा करिब १०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै पतञ्जलि योग समिति धादिङकी महिला प्रभारी राममाया बुढाथोकीले जिल्लामा पछिल्लो समय योगसम्बन्धी गतिविधि विस्तार हुँदै गएको बताउनुभयो। उहाँका अनुसार अम्लेश्वर योग साधना केन्द्र धादिङ जिल्लामा सञ्चालनमा आउन लागेको २४औँ साधना केन्द्र हो।

उहाँले स्वस्थ जीवनशैली निर्माणमा योग साधना केन्द्रहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै नियमित योग अभ्यासमार्फत शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सकिने उल्लेख गर्नुभयो।

पतञ्जलि योग समिति धादिङका प्रभारी बद्री सुवेदीले नयाँ साधना केन्द्रको सफलताको शुभकामना व्यक्त गर्दै नियमित रूपमा योग तथा साधना सञ्चालन गर्न आग्रह गर्नुभयो।

त्यस्तै, योग समिति बागमती प्रदेशका संगठन मन्त्री शंकर प्रसाद थपलियाले योगको इतिहास, यसको सुरुवात, वर्तमान समयमा योगको आवश्यकता तथा साधनाको महत्वबारे जानकारी दिनुभयो। स्वस्थ जीवनका लागि योगसँगै स्वस्थ खानपान र उचित रहनसहन पनि आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले अम्लेश्वर योग साधना केन्द्रका लागि आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो।

उहाँले औषधि विज्ञानको विकाससँगै पुनः पूर्वीय साधना र जीवनपद्धतितर्फ आकर्षण बढ्दै गएको उल्लेख गर्दै योग मानव जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको बताउनुभयो। योग, आयुर्वेद र साधनाले शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

दैनिक रूपमा सञ्चालन हुने साधना केन्द्रलाई निरन्तरता दिन शुभकामना दिँदै अध्यक्ष खतिवडाले केन्द्रको आवश्यकताअनुसार गाउँपालिकाबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा गल्छी–६ का वडाध्यक्ष दिपक कुमार कार्कीले आफू पनि योग साधक रहेको बताउँदै योगले अनुशासन, धर्म तथा संस्कृतिको संरक्षणसँगै शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

उहाँले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै मानसिक रूपमा स्वस्थ रहन योग महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो।

साधना केन्द्रको संस्थापक समितिको प्रभारीमा दिल बहादुर रम्तेल, सह–प्रभारीमा इन्दिरा रायमाझी भण्डारी, मन्त्रीमा राधा अधिकारी, सह–मन्त्रीमा उद्वव काराखेती र कोषाध्यक्षमा अमृता के.सी. रहनुभएको छ।

त्यस्तै सदस्यहरूमा शंकर भण्डारी, रिता भण्डारी, हिरा सुवेदी, सरस्वती भण्डारी, सुमित्रा कार्की र प्रकाश भण्डारी रहेका छन्।

सल्लाहकारमा केदारनाथ खतिवडा, दिपक कुमार कार्की, भिमसेन पाण्डे, शिव भण्डारी र अप्सरा पण्डित रहनुभएको छ।

नवनिर्मित अम्लेश्वर योग साधना केन्द्रले दैनिक रूपमा योग तथा साधना सञ्चालन गर्ने जनाएको छ। स्थानीयस्तरमा योगको पहुँच विस्तार गर्दै स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणमा केन्द्रले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।