न्यूजिल्यान्डको कमाइ छोडेर गाउँमै किवी खेती: धादिङमा फस्टाउँदै अर्गानिक किवी, बजारीकरणमा जुट्दै ‘मण्डली फ्रुट’
187 पटक पढिएको
धादिङ – वैदेशिक रोजगारीका क्रममा सिकेको सीप र प्रविधिलाई आफ्नै माटोमा प्रयोग गर्दै धादिङको नेत्रावती डबजोङ गाउँपालिका सेमजोङका युवा किसान सन्त तामाङले किवी खेतीबाट लोभलाग्दो उदाहरण प्रस्तुत गरेका छन्। किवीको राजधानी मानिने न्यूजिल्यान्डका किवी फार्ममा काम गरेर फर्किएका तामाङले सेमजोङमा करिब १३ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्दै आएका छन्।
तामाङको फार्ममा उत्पादन भएको उच्च गुणस्तरको स्वादिलो किवी यस वर्ष पनि धादिङबेसी बजारमा भित्रिने भएको छ। स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्दै आएको ‘मण्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्स’ले उक्त किवी बजारमा ल्याउने तयारी पूरा गरेको छ।
सप्लायर्सका सञ्चालक तथा फलफूल व्यवसायी पुरुषोत्तम घिमिरेले हालै सेमजोङमै पुगेर तामाङको किवी फार्मको प्रत्यक्ष अवलोकन गरेका छन्। अवलोकनका क्रममा यस वर्ष फार्ममा ‘हेल्वार्ड’ र ‘गोल्डेन’ जातका किवीको उत्पादन निकै राम्रो र सप्रिएको पाइएको घिमिरेले बताए। “गत वर्ष पनि मण्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्समार्फत सेमजोङको किवी बजारमा बिक्री-वितरण गरेका थियौँ। यस वर्ष पनि फार्म अवलोकन गर्दा फल निकै राम्रो देखिएको छ,” घिमिरेले भने, “गुणस्तरीय उत्पादन भएपछि किसानलाई बजारको कुनै चिन्ता नगर्न आग्रह गरेर फर्किएको छु।”
नेपालमा धेरैजसो किसानले उत्पादनको उचित बजार नपाउने समस्या झेलिरहेका बेला मण्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्सले भने किसान र बजारबीच बलियो पुलको काम गर्दै आएको छ। सञ्चालक घिमिरेका अनुसार सेमजोङमा उत्पादित स्वादिष्ट तथा पोषक तत्त्वले युक्त ताजा किवी खरिदका लागि धादिङबेसीस्थित मण्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्सको सम्पर्क नम्बर ९८५१०४३१५८ मा सिधा सम्पर्क गरी अर्डर गर्न सकिनेछ। बजार व्यवस्थापनको समस्या झेलिरहेका अन्य स्थानीय फलफूल किसानलाई समेत बजारीकरणमा सहयोग गर्न आफू तयार रहेको घिमिरेले बताए।
वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै भूमिमा सम्भावना पहिल्याउने सन्त तामाङ जस्ता युवा र उनीहरूको उत्पादनलाई बजारसँग जोड्ने पुरुषोत्तम घिमिरे जस्ता व्यवसायीको सहकार्यले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो योगदान पुर्याएको छ।
धादिङमा सन्त तामाङजस्तै वैदेशिक रोजगारीको अनुभव सँगालेर फर्किएका अन्य युवाहरू पनि व्यावसायिक किवी खेतीमा सफल बन्दै गएका छन्। मलेसियामा चार वर्ष श्रम गरेर फर्किएपछि नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारीले २०७२ सालदेखि नै जिल्लामै पहिलोपटक व्यावसायिक किवी खेती सुरु गरेका थिए। उनले नीलकण्ठ–१ काउलेमा १५ रोपनी जग्गा भाडामा लिएर सुरु गरेको ‘श्रीकृष्ण कृषि फर्म’बाट अहिले बर्सेनि दुई टनभन्दा बढी किवी उत्पादन हुँदै आएको छ।
समुद्री सतहबाट १ हजार मिटरभन्दा माथिको उचाइ किवीका लागि उपयुक्त हुने भएकाले धादिङका माथिल्लो भेगहरूमा यसको प्रचुर सम्भावना देखिएको छ। हाल नेत्रावती डबजोङ र नीलकण्ठका साथै रुबीभ्याली, गजुरी र बेनिघाट–रोराङ क्षेत्रमा समेत सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातका किवी खेती तीव्र रूपमा विस्तार भइरहेको छ।
जिल्लामा प्राविधिक सेवाको अभाव र वन्यजन्तुको क्षति जस्ता चुनौतीका बाबजुद किसानहरूले प्रविधिको प्रयोग गर्दै किवी खेतीलाई अघि बढाइरहेका छन्। तीनवटै तहका सरकारले समन्वय गरी धादिङलाई ‘किवी हब’का रूपमा विकास गर्ने र प्रसोधन उद्योग स्थापना गर्न सके स्थानीय रोजगारी र किसानको आयस्रोतमा ठूलो टेवा पुग्ने देखिन्छ।







