देशभर मनसुन सक्रिय: लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
111 पटक पढिएको
काठमाडौँ, १ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपाल नजिक अवस्थित रहेकाले देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा र कोशी तथा बागमती प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थान, मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुनेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा र मधेश प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
केही प्रदेशका पहाडी भू-भागमा भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेकाले पहिरो, गेग्रान बहाव को जोखिम रहनुका साथै नदी तथा खोलाहरूमा जलसतह बढ्न सक्नेछ। तराईका होचा भू-भाग डुबानमा पर्न सक्ने भएकाले कृषि, यातायात, सहरी क्षेत्र तथा सर्वसाधारणलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।







