धादिङको कृष्णभीरमा नयाँ ट्रयाक निर्माण सुरु, १५ दिनभित्र सडक सञ्चालनमा ल्याइने

59 पटक पढिएको

१९ भाद्र २०८३, शुक्रबार ११:१७ सम्पादक: धादिङ न्यूज

धादिङ । अविरल वर्षासँगै गएको १० भदौ मा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र कटानका कारण पृथ्वीराजमार्गको धादिङस्थित कृष्णभीर खण्ड पूर्ण रूपमा भासिएपछि यातायात सेवा ठप्प बनेको छ। काठमाडौँलाई देशका अन्य भागसँग जोड्ने मुख्य जीवनरेखा मानिने यो राजमार्ग विच्छेद हुँदा हजारौँ यात्रु र सवारीसाधन बिचबाटोमै रोकिएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको संयुक्त टोलीले स्थलगत निरीक्षण गरी पुरानो सडक खण्ड मर्मत गर्न असम्भवप्रायः देखिएपछि मन्त्रिस्तरीय निर्णयबाट तत्काल नयाँ ट्रयाक खन्ने कामलाई तीव्रता दिइएको छ।

सडक विभागका अनुसार बाढीले साविकको राजमार्गको करिब ७० मिटर भाग पूर्ण रूपमा त्रिशूली नदीमा बगाएको छ भने थप १२० मिटर भागमा ठूला-ठूला धाँजा फाटेर सडक धसिएको छ। सडकको जग नै नदीले काटेकाले नदी किनारबाटै उठायर पुरानो सडक तत्काल बनाउन प्राविधिक रूपमा कठिन भएपछि पहाडतर्फको भित्ता काटेर नयाँ बाइपास मार्ग तयार गर्न लागिएको हो।

मलेखु-मुग्लिन सडक आयोजनाकी प्रमुख सजाना अधिकारीका अनुसार नयाँ ट्रयाक निर्माणका लागि पहाडतर्फका रुखहरू हटाउने र डोजर तथा हेभी उपकरण प्रयोग गरी जग खन्ने काम सुरु भइसकेको छ। निरन्तर काम गर्दा आगामी १० देखि १५ दिनभित्र नयाँ ट्रयाक तयार गरी राजमार्गमा यातायात पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले समेत संसदमा सम्बोधन गर्दै कृष्णभीर खण्डमा भइरहेको अवरोधलाई हटाएर यही महिनाभित्रै सडक सञ्चालनमा ल्याउन मातहतका निकायलाई कडा निर्देशन दिइसक्नुभएको छ।

अहिलेको लागि आपत्कालीन रूपमा ग्याबियन जाली हाल्ने, पहरा फुट्याउने र ढुङ्गा खसालेर अस्थायी सडक बनाइनेछ। दीर्घकालीन समाधानका लागि भने नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरी टनेल (सुरङमार्ग), सोइल नेलिङ वा सिट पाइलिङ प्रविधि अपनाइने योजना बनाइएको छ। सडक ठप्प भएसँगै उपत्यकामा खाद्यान्न र तरकारी आपूर्तिमा समस्या नहोस् भन्नका लागि वैकल्पिक रूपमा हेटौँडा-नौबिसे र फिस्लिङ-बेनीघाट मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।