कृष्णभिर र परेवाभिर पहिरोको असर: चाडपर्वको मुखमा ठप्प बन्यो व्यापार

47 पटक पढिएको

२२ भाद्र २०८३, सोमबार ०७:१४ सम्पादक: धादिङ न्यूज

धादिङ, २२ भदौ  । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र परेवाभिरमा सडक भासिएपछि स्थानीय बजार र व्यवसाय ठप्प बनेको छ। काठमाडौँ र चितवन दुवैतर्फको सडक सम्पर्क विच्छेदजस्तै भएपछि मलेखुका प्रसिद्ध माछा बजार, होटल तथा अन्य व्यापारिक प्रतिष्ठानहरू सुनसान बनेका छन्। बाढीको मारबाट तंग्रिन नपाउँदै मुख्य राजमार्ग ठप्प हुँदा र चाडपर्वको मुखमा व्यापार नहुँदा स्थानीय व्यवसायीहरू बैंकको किस्ता र ब्याज बुझाउनै नसक्ने दबाबमा परेका छन्।

यस्तो अवस्थामा व्यवसायीहरूले मुख्य सडक बन्न समय लाग्ने भएकाले त्रिशूलीपारिको सडक तथा गोरखाको घ्याल्चोकतर्फको बाटोलाई तत्काल वैकल्पिक मार्गका रूपमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। हाल सञ्चालनमा रहेका वैकल्पिक मार्गहरू पनि हिलो, लेदो र साँघुरो भएकाले साना गाडी र बसहरू बाटोमै फस्ने समस्या कायमै छ। धादिङको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले भने वैकल्पिक सडकका खाल्डाखाल्डी पुर्ने र हिलो हटाउने काम तीव्र पारिएको बताएकी छन्।

यता सडक विभागका अनुसार कृष्णभिरमा ७ वटा एक्साभेटर, जेसीबी, बुल्डोजर र फ्लडलाइट प्रयोग गरी रातदिन काम भइरहेको छ। प्रवक्ता शुभराज न्यौपानेले भदौभित्रै र चाडपर्व अगावै सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको बताए पनि सडकको भित्री भागमा सोचेभन्दा बढी दरारहरू देखिएकाले प्राविधिक चुनौती थपिएको छ। साथै नागढुंगा-मुग्लिन खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार परेवाभिर, पातलेबन र चालिसे क्षेत्रमा पनि जोखिम रहेकाले सवारी रोकेर पर्खाल निर्माण र मर्मतको काम भइरहेको छ।