भोटेकोशीको बाढीले गल्छी वडा नम्बर २ र ४ जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त, स्थानीयलाई आवतजावतमा सास्ती

95 पटक पढिएको

२४ भाद्र २०८३, बुधबार ०९:०८ सम्पादक: धादिङ न्यूज

धादिङ । भोटेकोशी नदीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ र ४ लाई जोड्ने केउरिनीटार-मास्टार झोलुङ्गे पुलमा गम्भीर क्षति पुगेको छ।

गत भदौ १० गते आएको भीषण बाढीले पुलमा क्षति पुर्‍याएपछि अहिले दुवै वडाका स्थानीयवासीहरूलाई दैनिक ओहोरदोहोर गर्न निकै सास्ती भएको छ। पुल क्षतिग्रस्त भएसँगै दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न, विद्यार्थीहरूलाई विद्यालय जान र बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन निकै सास्ती भोग्नुपरेको स्थानीय गोकर्ण माप्छन मगरले जानकारी दिनुभयो।

वडा नम्बर २ को केउरिनीटार आसपासका वासिन्दा पृथ्वीराजमार्ग निस्कन यहि पुल प्रयोग गर्दथे । केउरिनीटारमा पक्की पुल भएका कारण तत्काल आवतजावात नरोकिएपनि छिटो जानुपर्नेहरुले लामो वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्।

बाढीले पुर्‍याएको क्षतिको तत्काल मर्मतसम्भार वा पुनर्निर्माण गरी सहज आवतजावतको वातावरण मिलाइदिन स्थानीयवासीहरूले सम्बन्धित निकाय, गाउँपालिका र सरोकारवालाहरूसँग जोडदार माग गरेका छन्।