फर्किने आशैआशमा १८ दिन बित्यो: भोटेकोशी बाढीमा हराएका नीलकण्ठका एकै परिवारका ४ जनाको कुशको शव बनाएर दाहसंस्कार
198 पटक पढिएको
धादिङ, २७ भदौ । भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएको १८ दिनसम्म पनि कुनै अवस्था पत्ता नलागेपछि नीलकण्ठ नगरपालिका–९, सानडाँडाका एकै परिवारका चार जनाको कुशको शव बनाएर भदौ २७ गते थोपल आशी दोभानमा दाहसंस्कार गरिएको छ।
गोंगबु बसपार्कबाट तीर्थयात्राका लागि गोसाइँकुण्डतर्फ छुटेको बा.०३-००६६ ख ८५६५ नम्बरको बस गत भदौ १० गते बिहान भोटेकोशीको बाढीमा परेको थियो। उक्त बसमा नीलकण्ठ–९ का सुवेदी परिवारका चार जनासहित कुल ३१ जना यात्रुहरू सवार रहेका थिए।
बसमा यात्रा गरिरहेका नीलकण्ठ–९ सानडाँडाका गुणनिधि सुवेदी (७१ बर्ष ), मुरलीदेवी सुवेदी (६६ बर्ष), रामहरि सुवेदी (३९ बर्ष) र बिन्दुरा सुवेदी (३५ बर्ष) बेपत्ता भएका थिए। हराएको दिनदेखि खोजी जारी राखिए पनि १८ दिन बित्दा समेत कुनै संकेत नभेटिएपछि अब जीवितै भेटिने आशा मरेको सुवेदी परिवारका सदस्य प्रदीप सुवेदीले बताए। परिवारले हिन्दू संस्कारअनुसार कुशको शव तयार गरी थोपलआशी दोभानमा उनीहरूको अन्तिम संस्कार गरिएको हो। बाढीमा हजुरबा, हजुरआमा र बुबाआमा समेत गुमाएका ११ वर्षीय बालक रियान सुवेदीले कुशको शवलाई दागबत्ती दिएका छन्।
भोटेकोशी बाढीमा परी नीलकण्ठ नगरपालिकाका मात्रै ३६ जना नगरवासी परेका छन् भने थाक्रे गाउँपालिका–७ सातकिलाका बिसुराम खतिवडा सहित एकै परिवारका ५ जना पनि यही बसमा सवार भई सम्पर्कविहीन भएका छन्।
यसअघि एउटै बसमा सवार अन्य मृतकहरूको पनि विभिन्न स्थानमा पहिचान गरी अन्त्येष्टि गरिएको छ। जसअनुसार नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, प्रकाश लम्साल, इन्दिरा अर्याल लम्साल ,शिवहरि लम्साल र रामचन्द्र खनालको पशुपति आर्यघाटमा, नीलकण्ठ–९ की गायत्री लम्साल, नीलकण्ठ नगरपालिका–३, पुछारबजार निवासी तुलसी तिमल्सिना र ईश्वरी तिमल्सिनाको धादिङबेसीस्थित आँसीखोला दोभानमा तथा सिद्धलेक–१ का हरिप्रसाद सिलवाल र बिन्दादेवी सिलवालको च्याडुदोभानमा अन्त्येष्टि गरिएको छ। त्यस्तै, सिद्धलेकका घनश्याम भट्ट र कल्पना भट्टको शव पनि काठमाडौंमै दाहसंस्कार गरिएको थियो।
नीलकण्ठ–१२ का ठाकुर लम्साल, शारदा लम्साल, रामशरण लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, भगवती खनाल, नारायणप्रसाद लम्साल र सीता लम्साल, नीलकण्ठ–३ का राजन लम्साल, गंगाकुमारी लम्साल, सीता तिवारी र बस चालक छबिलाल श्रेष्ठको पनि अन्तिम संस्कार गरिएको छ। विपद्मा परेका केही व्यक्तिको मृत्यु पुष्टि भई अन्त्येष्टि गरिए पनि केही अझै सम्पर्कविहीन र खोजीको सूचीमा रहेका छन्। यस हृदयविदारक घटनाले सिंगो नीलकण्ठ नगरसहित धादिङ जिल्लालाई नै शोकसन्तप्त बनाएको छ।







