बैरेनी अस्पतालमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर

18 पटक पढिएको

२८ भाद्र २०८३, आईतवार ०६:५५ सम्पादक: धादिङ न्यूज

धादिङ – भोटेकोसी बाढीले क्षतिग्रस्त भएकाे बैरेनी अस्पताल सरसफाइ गरी सेवा सुरु भएपछी गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ।

अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके र धादिङ सेवा समाज कतारको सहकार्यमा शिविर आयोजना गरिएको हो। शिविरमा गल्छी गाउँपालिकाको स्थानीय सहयोग रहेको छ भने इन्सेकले कार्यक्रम समन्वय गरेको थियो।

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरुवातको पहिलो दिनमा महिला ३१ जना र पुरुष २८ जना गरी ५९ जनाले सेवा लिनुभएको अन्तर्राष्ट्रिय धादिङ समाजका कोषाध्यक्ष रामकुमार थापाले जानकारी दिनुभयो।

शिविरमा जनरल फिजिसियन डा. दिपक सुन्दर श्रेष्ठ, महिला रोग विशेषज्ञ डा. सरिता सुटौला, मानसिक रोग विशेषज्ञ डा. प्रज्वल थापा र हाडजोर्नी विशेषज्ञ डा. विकास पराजुलीले सेवा दिनुभएको छ। विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श लिन चाहने सर्वसाधारण शिविरमा सहभागी हुनुभएको थियो।

कार्यक्रम शुभारम्भको अवसरमा शिविरमा सेवा लिन आउनुभएको बिरामीलाई कार्ड दिएर सुरु गरिएको थियो। गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले कार्यक्रम शुभारम्भ गर्दै स्थानीय जनतालाई परेको समस्या र विपदमा सहयोग गर्नुभएकोमा अन्तर्राष्ट्रिय धादिङ समाजलाई धन्यवाद दिनुभयो।

विपदमा सहयोगिहरूले गरेको योगदानको पालिकाले मूल्यांकन गरेको बताउँदै विपदमा मानिसका लागि आधारभूत स्वास्थ्य सेवा नै भएकोले अस्पताल र कार्यक्रम सञ्चालन गर्नेहरूदेखि कृतज्ञ रहेको उल्लेख गर्नुभयो।

अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार डा. प्रताप छत्कुलीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी, ६ नम्बर वडा अध्यक्ष दीपक कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा इन्सेक प्रतिनिधि सीताराम अधिकारी, बैरेनी अस्पतालका प्रमुख डा. मधुकर दाहाल, अन्तर्राष्ट्रिय धादिङ समाजका प्रसुना कँडेल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वरिष्ठ अधिकृत तथा सूचना अधिकारी कृष्ण गौतम, बागमती प्रदेश संयोजक शिव खकुरेल लगायतको उपस्थिति रहेको थियो।