अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा: आजदेखि कृष्णभीरमा दुवैतर्फ चल्याे गाडी

28 पटक पढिएको

१ आश्विन २०८३, बिहीबार ०७:०८ सम्पादक: धादिङ न्यूज

धादिङ -सडक भास्सिएर काठमाडौँसँगको यातायात सम्बन्ध विच्छेद भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण भएपछि राजमार्ग पूर्ण रूपमा दुईतर्फ नै सञ्चालनमा आएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज असोज १ गते बिहीबार बिहान ६ बजेदेखि नै यस खण्डमा सवारीसाधनहरू दुवैतर्फ सहज रूपमा आवतजावत गर्न थालेका छन्।

गत भदौ १० र १४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी तथा आकस्मिक बाढीका कारण कृष्णभीर क्षेत्रको सडक नराम्रोसँग धसिएको थियो, जसले गर्दा लामो समयदेखि यातायात आवागमन पूर्ण रूपमा ठप्प बनेको थियो। सडक डिभिजन कार्यालयको प्रयासमा हाल नयाँ ट्र्याक खोलेर यातायात सुचारु गराइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमद्वारा जारी सूचनामा उल्लेख छ।

राजमार्ग सञ्चालनमा आए तापनि वर्षाको समयमा विभिन्न स्थानमा सडक भासिने, पहिरो जाने तथा ढुङ्गा–माटो खस्ने जोखिम कायमै रहेको छ। यसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले चालक तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

विशेष गरी वर्षा भइरहेको बेला वा सडकमा कुनै अवरोध देखिएमा अनावश्यक जोखिम मोलेर यात्रा नगर्न, सडक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरूको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न तथा आधिकारिक सूचनाको मात्र खाका तयार गरी यात्रा तय गर्न विशेष आग्रह गरिएको छ।